विमानस्थलबाट सुनजस्तो पहेँलो धातुसहित दुईजना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–१ पिपरपाटीका करिब ३३ वर्षीय अनिस अन्सारी रहेका छन्। उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९.६ ग्राम गरगहना बरामद भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दोहा हुँदै काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएर जाँच गर्दा भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस