‘एलिफेन्ट इन द फग’लाई तीन अन्तर्राष्ट्रिय मनोनयन
घरेलु बक्सअफिसमा प्रदर्शनरत चलचित्र एलिफेन्ट इन द फग’ ले अन्तर्राष्ट्रिय अवार्डमा उल्लेखनीय सफलता हासिल गरेको छ । चलचित्र १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयनमा परेको हो ।
एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीअनुसार अविनाश विक्रम शाह निर्देशित ‘एलिफेन्ट इन द फग’ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको छ । यस वर्षको मनोनयनमा ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएका छन् ।
एसिया प्यासिफिक स्क्रिन अवार्डको १९औँ संस्करण आगामी अक्टोबर ३० मा अस्ट्रेलियामा आयोजना हुँदैछ ।
‘एलिफेन्ट इन द फग’ले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ । चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ ।
निर्देशक अविनाश विक्रम शाहकै पटकथा रहेको चलचित्रको कथा शाह र सन्दीप बादलले तयार पारेका हुन् । नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो ।
चलचित्रका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन् । त्यस्तै, प्रचण्डमान श्रेष्ठसहित ब्राजिलका तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल सह–निर्माताका रूपमा रहेका छन् ।



.jpeg)

प्रतिकृया दिनुहोस