आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
वैदिक सनातन धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाउने ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। यस अवसरमा विभिन्न कृष्णमन्दिरमा विशेष पूजाआराधना, भजनकीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिँदै छन्।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताअनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ। जन्माष्टमीका दिन महिला तथा पुरुष भक्तजनहरू व्रत बस्ने, कृष्णमन्दिरमा पूजाआजा गर्ने र रातभर जाग्राम बस्ने परम्परा छ।
भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णले अन्याय, अत्याचार तथा दानवी प्रवृत्तिको अन्त्य गर्दै सत्य र सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिका पात्रहरूको संहार गरेको पौराणिक कथामा पाइन्छ।
महाभारतको कुरुक्षेत्र युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई ‘श्रीमद्भागवतगीता’का रूपमा चिनिन्छ। गीता हिन्दू धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रूपमा रहेको छ।
जन्माष्टमीको अवसरमा आज देशका विभिन्न कृष्णमन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ। विशेषगरी ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा हरेक वर्ष ठूलो धार्मिक मेला लाग्ने गर्छ। त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधामलगायत राजधानीका विभिन्न कृष्णमन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्दछ।
यस अवसरमा काठमाडौं उपत्यकाका विभिन्न धार्मिक संघसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत निकाल्ने परम्परा छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।





प्रतिकृया दिनुहोस