नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, कार–जिप–भ्यान चल्न पाउने
नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ। ९ जनासम्म यात्रु क्षमता भएका कार, जिप र भ्यानलाई परीक्षणका रूपमा सुरुङमार्ग प्रयोग गर्न दिइएको हो।
नागढुंगा सुरुङमार्ग सुरक्षा युनिटका अनुसार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निजी सवारीसाधनलाई सुरुङमार्ग हुँदै काठमाडौं–धादिङ आवतजावत गर्न दिइनेछ। तत्कालका लागि सुरुङ प्रयोग गरेबापत कुनै शुल्क लिइने छैन।
यसअघि उद्घाटनपछि सुरुङमार्ग आपतकालीन सवारीसाधनका लागि मात्र खुला गरिएको थियो। अब निजी सवारीसाधनलाई समेत प्रवेश दिएर परीक्षण सञ्चालन सुरु गरिएको सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए।
उनका अनुसार एक सातासम्म निजी सवारी सञ्चालनको अनुभव र सम्भावित समस्याबारे अध्ययन गरिनेछ। चालकले सुरुङभित्र सवारी चलाउँदा भोगेका समस्या तथा अनुभवका आधारमा थप सवारीसाधनलाई क्रमशः प्रवेश दिने तयारी छ।
सुरुङमार्गभित्र सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ। सवारीसाधनले हेडलाइट बाल्नुपर्नेछ भने सुरुङभित्र गाडी रोक्न र ओभरटेक गर्न पाइने छैन।
पैदलयात्री, दुईपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रवेशमा रोक लगाइएको छ।
यसैगरी, गुर्जुधारामा रहेको फ्लाइओभर पनि सोमबारदेखि सञ्चालनमा ल्याइएको छ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। यससँगै २.५५७ किलोमिटर लामो आपतकालीन सुरुङ निर्माण गरिएको छ।
नागढुंगा सुरुङमार्गको नियमित सञ्चालन भएपछि सवारीसाधनको प्रकारअनुसार शुल्क निर्धारण गरिनेछ। अहिले भने परीक्षणका रूपमा निजी सवारीलाई निःशुल्क आवतजावतको व्यवस्था गरिएको छ।





प्रतिकृया दिनुहोस