तीन वर्षीया गरिमा हत्या प्रकरणमा तेस्रो व्यक्ति पक्राउ
बारा, सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्कालाई पक्राउ गरेको हो।
खड्काको पक्राउसँगै घटनामा पक्राउ पर्नेको संख्या तीन पुगेको छ। यसअघि प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा थापाले प्रदीप खड्काको नाम लिएपछि प्रहरीले उनलाई पनि अनुसन्धानको दायरामा ल्याएको हो।
गरिमा साउन ३१ गते बिहान आफ्नै घरआँगनमा खेल्ने क्रममा सम्पर्कविहीन भएकी थिइन्। परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकै रहेको मानिस नबस्ने एक घरमा उनको शव फेला परेको थियो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस