चितवनमा ३८ जनामा डेंगु र स्क्रब टाइफस पुष्टि

चितवन । चितवनमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन्। जनस्वास्थ्य कार्यालय, चितवनका अनुसार साउन १ गतेदेखि २८ गतेसम्म जिल्लाभित्र र बाहिरका गरी ३४ जनामा स्क्रब टाइफस र ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

कार्यालयका अनुसार स्क्रब टाइफसका लागि परीक्षण गरिएका २११ जनामध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै, डेंगु परीक्षण गरिएका १७८ जनामध्ये ४ जनामा संक्रमण पुष्टि भएको छ।

स्थानीय तहअनुसार भरतपुर महानगरपालिकामा स्क्रब टाइफसको जोखिम बढी देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। भरतपुरमा १ पुरुष र ४ महिलासहित ५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। रत्ननगर नगरपालिकामा पनि १ पुरुषमा संक्रमण देखिएको छ।

डेंगुतर्फ कालिका नगरपालिकामा १ महिला र इच्छाकामना गाउँपालिकामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ। खैरहनी, माडी र राप्ती नगरपालिकामा भने हालसम्म डेंगु र स्क्रब टाइफसका संक्रमित भेटिएका छैनन्।
चितवनका स्वास्थ्य संस्थामा उपचारका लागि अन्य जिल्लाबाट आएका बिरामीमा संक्रमणको संख्या अझ बढी देखिएको छ। अन्य जिल्लाका ११ पुरुष र १७ महिलासहित २८ जनामा स्क्रब टाइफस तथा २ पुरुषमा डेंगु संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै डेंगुका २ जना नयाँ बिरामी थपिएका छन्। तीमध्ये १ जना कालिका नगरपालिकाका र १ जना अन्य जिल्लाका हुन्। यस्तै, स्क्रब टाइफसका २ जना नयाँ बिरामी पनि अन्य जिल्लाबाट थपिएका छन्।

सूचना अधिकारी केसीका अनुसार अहिले डेंगु र स्क्रब टाइफस संक्रमण फैलिने मौसम हो। वर्षायामसँगै कीटजन्य रोगको जोखिम बढ्ने भएकाले वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन तथा लामखुट्टे र माइटको टोकाइबाट जोगिन जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस