‘रेलिमै घुमौँला फिरौँला’मार्फत पर्यटन प्रवद्र्धनमा रमेशराज भण्डारी
चितवन । गायक तथा संगीतकर्मी रमेशराज भण्डारीले नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरौँला’ सार्वजनिक गरेका छन्। तीजको मौलिकता, नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनलाई गीतको मुख्य विषय बनाइएको छ।
बागलुङको बडिगाड गाउँपालिका–५, ग्वालीचौरमा जन्मिएका भण्डारी हाल चितवनको मङ्गलपुरमा बसोबास गर्दै आएका छन्। सानैदेखि गीत–संगीतमा रुचि राख्ने उनले विद्यालय तहबाटै विभिन्न गायन प्रतियोगितामा सहभागी हुँदै सांगीतिक यात्रा सुरु गरेका हुन्।
‘रेलिमै घुमौँला फिरौँला’मा नेपालका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको चर्चा गरिएको छ। गुल्मीको रेसुङ्गा र धुर्कोट दरबार, बागलुङको ढोरपाटन र बागलुङ कालिका गीतमा समेटिएका छन्। पोखरा, रुपन्देहीको फुलबारी, इलाम र काठमाडौंका पर्यटकीय क्षेत्रलाई पनि गीतले छोएको छ।
गीतमा रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर छ। शब्द बासुदेव पोखरेलले लेखेका हुन् भने लय सिर्जना भण्डारीले गरेका छन्।
भण्डारी तीज, रोइला, आधुनिक र गाईजात्रालगायत विभिन्न विधाका गीतमा सक्रिय छन्। यसअघि उनले ‘लै माया लै’, ‘अतीत’ र ‘हाम्रो चोखो माया’लगायत गीतमा स्वर तथा शब्द–संगीत दिएका छन्। सांगीतिक कर्मसँगै उनी चितवन मेडिकल कलेजमा कार्यरत छन्।
गीतको भिडियो निर्देशन निशान बानियाँले गरेका छन्। भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारको अभिनय छ। सुजन कोइरालाले भिडियो सम्पादन गरेका हुन् भने मास्टरिङ कुमार राना मगरले गरेका छन्।
भण्डारीका अनुसार गीतलाई तीजको मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली कला, संस्कृति र पर्यटनसँग जोड्ने प्रयास गरिएको छ। देशका पर्यटकीय तथा ऐतिहासिक स्थललाई गीतमार्फत चिनाउने उद्देश्य रहेको उनले बताए।
‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भाव बोकेको गीतले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।


.png)


प्रतिकृया दिनुहोस