भारतीय अभिनेता प्रदीप रावतको निधन

भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सर पुनः बल्झिएपछि मुम्बईको एक अस्पतालमा उपचाररत रहेका रावतको मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार रावतका व्यवस्थापक सिद्धार्थ तिवारीले उनी एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा उपचाररत रहेको जानकारी दिएका थिए। अभिनेता यशपाल शर्माले पनि इन्स्टाग्राममार्फत रावतको निधनको पुष्टि गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत आफ्नो छाप छोडेका थिए। उनले चर्चित टेलिभिजन श्रृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निर्वाह गर्दै प्रारम्भिक चर्चा कमाएका थिए।

त्यसपछि ‘लगान’, ‘सरफरोश’, ‘गजिनी’, ‘राउडी राठौर’ लगायतका फिल्ममा शक्तिशाली खलनायकको भूमिकाबाट उनी दर्शकमाझ लोकप्रिय बने।

रावतले नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ तथा ‘आबाट आमा’ शृंखलामा पनि अभिनय गरेका थिए। ‘आबाट आमा–२’ हाल प्रदर्शनको तयारीमा रहेको छ। उनको निधनपछि नेपाली अभिनेत्री विपना थापा, नीता ढुंगानालगायत कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

 

प्रतिकृया दिनुहोस