नारायणगढ–मुग्लिङ सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो । पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए।

तुइनखोला क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर रोकथामको काम अघि बढाउन लागेको जनाएको छ । गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनःअघि बढाउन लागिएको हो । 

प्रतिकृया दिनुहोस
↑