अर्को सातादेखि देशका धेरै क्षेत्रमा झरीको सम्भावना
आगामी मंगलबारदेखि नेपालका अधिकांश क्षेत्रमा एक साताभन्दा बढी समय वर्षा हुने सम्भावना देखिएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न क्षेत्रमा झरी पर्न सक्ने देखिएको हो ।
मौसम पूर्वानुमानका विभिन्न मोडेलले आगामी सातादेखि वर्षाको संकेत देखाएको पोखरेलले बताएका छन् । उनका अनुसार केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना छ ।
यद्यपि, वर्षा हुने स्थान र मात्राबारे विभिन्न मोडेलमा फरक–फरक अनुमान देखिएकाले अहिले नै यकिन गर्न कठिन रहेको उनले स्पष्ट पारेका छन् । पूर्वानुमानमा परिवर्तन हुन सक्ने भएकाले मौसमको पछिल्लो अपडेटमा ध्यान दिन उनले आग्रह गरेका छन् ।
वर्षाको सम्भावनालाई ध्यानमा राख्दै धान काट्ने तयारीमा रहेका किसानलाई मौसमको अवस्था हेरेर योजना बनाउन पोखरेलले सुझाव दिएका छन् । सम्भव भए वर्षा सुरु हुनुअघि नै धान काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा रोकिएपछि मात्र काट्ने गरी तयारी गर्न उनले आग्रह गरेका छन् । केही स्थानमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेकाले किसानले थप सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, हिमाली क्षेत्रमा मौसमका कारण जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन उनले सुझाव दिएका छन् । यात्रा वा ट्रेकिङमा रहेका तथा जाने तयारीमा रहेका व्यक्तिलाई नियमित मौसम अपडेट हेर्न र आधिकारिक सूचनाका आधारमा आफ्नो योजना बनाउन पोखरेलले आग्रह गरेका छन् ।





प्रतिकृया दिनुहोस