इच्छाकामनाका थप ३२ भूमिहीन परिवारले पाए लालपुर्जा

चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारा सुन्दरबस्ती र सङ्गम टोलका थप ३२ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । यससँगै जिल्लामा हालसम्म लालपुर्जा प्राप्त गर्ने परिवारको सङ्ख्या ६६ पुगेको छ ।

भूमि समस्या समाधान समितिका केन्द्रीय अध्यक्ष बलभद्र बाँस्तोलाको उपस्थितिमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष गणेश अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष बाँस्तोलाले लालपुर्जा वितरणमा प्रमुख जिल्ला अधिकारी अर्याल, गाउँपालिका अध्यक्ष तथा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए । यसअघि ३४ परिवारलाई लालपुर्जा वितरण गरिएको र आज थप ३२ परिवारले प्राप्त गरेको उनले जानकारी दिए ।

उनका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले हालै ल्याएका अध्यादेशले कानुनी जटिलता हटाउन सहयोग पुग्नेछ । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीका लागि राजस्व घटाउने र किस्ताबन्दीमा राजस्व तिर्न पाउने व्यवस्थाले लालपुर्जा वितरण प्रक्रिया सहज हुने उनले बताए ।

स्थानीय तहले जग्गा उपलब्ध गराउन नसक्ने अवस्थामा नेपाल सरकारले जग्गा अधिग्रहण गरेर भए पनि भूमिहीन दलितलाई उपलब्ध गराउन सक्ने व्यवस्था अध्यादेशमा रहेको उनले उल्लेख गरे । वन, मध्यवर्ती तथा संरक्षित क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको समस्या समाधानका लागि पनि कानुनी व्यवस्था गरिएको उनको भनाइ थियो ।

लालपुर्जा प्राप्त गरेका लाभग्राहीले ६० दिनभित्र सम्बन्धित मालपोत कार्यालयमा गई पुर्जा अद्यावधिक गर्नुपर्नेछ । सरकारले उपलब्ध गराएको जग्गा अद्यावधिक गरेको मितिले १० वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था रहेको अध्यक्ष बाँस्तोलाले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले लालपुर्जा वितरणका लागि विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने र कानुनी जटिलता रहेकाले काम सहज नभएको बताए । दशैँअघि नै इच्छाकामनाका नागरिकलाई लालपुर्जा वितरण गर्ने उद्देश्यले कर्मचारीले रातदिन खटेर काम गरेको उनले जानकारी दिए ।

उनले भूमिहीनको समस्या समाधानमा इच्छाकामना गाउँपालिकाले देखाएको सक्रियता अन्य स्थानीय तहका लागि पनि उदाहरणीय हुनुपर्ने बताए । स्थानीय तहले आवश्यक कागजात तयार गरी प्रमाणीकरण गरेर पठाएमा समितिले लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन सक्ने उनको भनाइ थियो ।

अर्यालले सरकारले देशभर एकजना पनि भूमिहीन नरहने लक्ष्य राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्थानीय तहको सक्रियता आवश्यक रहेको बताए । चितवनका अन्य पालिकामा पनि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम भइरहेको उनले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभा ढकालले लामो समयदेखिको राजनीतिक खिचातानीका कारण वास्तविक भूमिहीन नागरिक लालपुर्जा प्राप्त गर्नबाट वञ्चित भएको बताइन् । अहिले सरकारले वास्तविक भूमिहीन सुकुम्बासीलाई आधिकारिक जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको उनको भनाइ थियो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकामा भूमिहीन सुकुम्बासीको समस्या क्रमशः समाधान हुँदै गएको बताए । लालपुर्जा वितरण गरिएको वडा नं. ७ मा मात्रै करिब ६० प्रतिशत भूमिहीनको समस्या रहेको उल्लेख गर्दै उनले जग्गाको नापजाँच र कित्ताकाटको काम अघि बढाइएको जानकारी दिए ।

“हामीले करिब तीन हजार ७०० घरधुरीको जग्गा कित्ताकाट गरेर नापजाँच गरेका छौँ,” उनले भने, “अब क्रमशः भूमिहीन सुकुम्बासीको समस्या समाधान हुँदै जानेछ ।”

नापी कार्यालय भरतपुरका प्रमुख नापी अधिकृत तथा जिल्ला भूमि समस्या समाधान समितिका सदस्यसचिव श्रीधर ढुङ्गानाका अनुसार इच्छाकामना गाउँपालिका–७ मा यसअघि साउन ८ गते ३४ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । आज थप ३२ परिवारले पुर्जा पाएसँगै वितरण गरिएको कुल सङ्ख्या ६६ पुगेको छ ।

उनका अनुसार जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका करिब ४५ हजार निवेदन परेका छन् । ती निवेदनमाथि अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रतिकृया दिनुहोस
↑