बिसिए प्राइड लिगको उपाधि सौराहालाई 

चितवन । प्रथम बिसिए प्राइड लिग टी-२० क्रिकेटको उपाधि सौराहा स्याण्ड्सले जितेको छ । फाइनलमा माडी टाइगर्सलाई ८ रनले पराजित गर्दै सौराहा च्याम्पियन बनेको हो ।

भरतपुर ५ स्थित भरतपुर स्पोर्ट्स क्लबको मैदानमा भएको खेलमा सौराहाले दिएको एक सय ९ रनको सामान्य लक्ष्य पछ्याएको माडी २ बल बाँकी रहँदा एक सय रनमा समेटियो । राम्रो सुरुवात गरेको माडीको तल्लो क्रमका ब्याटर चल्न सकेनन् । 

माडीका लागि पवनबहादुर थापाले सर्वाधिक ३४ रन बनाए । ३१ बल खेलेका उनले ५ चौका प्रहार गरे । दिपेश कुमार क्षेत्रीले २३ तथा हानोक पुर्जाले २२ बाहेक अन्य ब्याटरको दोहोरो अंकको रन बटुल्न सकेनन् । बलिङतर्फ सौराहाका पवन सापकोटाले ३ विकेट लिए । चार ओभर बलिङ गरेका पवनले २१ रन खर्चिए । यस्तै आर्य महतो र आर्यन राउतले समान २-२ विकेट लिए । 

त्यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको सौराहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ८ रन बनाएको थियो । उसका लागि ओपनर लक्की कडायत र विवश न्यौपानेले समान ३९-३९ रन बनाए । लक्कीले ३२ बलमा ५ चौका र एक छक्का तथा विवशले ३७ बलमा २ चौका र एक छक्का प्रहार गरे । माडीका पवन थापा र सुमित शर्माले समान २-२ विकेट लिए । विजेताले एक लाख तथा उपविजेताले ५० हजार रूपैँया प्राप्त गरेको छ । 

अलराउण्ड प्रदर्शन गरेका सौराहाका कप्तान आर्य महतो प्लेयर अफ दि म्याच बने । माडीका पवनबहादुर थापा प्रतियोगिताभर उत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रूपैयाँ प्राप्त गरे । यस्तै सौराहाका आर्य महतो उत्कृष्ट ब्याटर तथा राप्ती घरियाल्सका प्रशान्त आचार्य उत्कृष्ट बलर बने । उनीहरुले जनही १०-१० हजार रूपैयाँ तथा ईमर्जिङ प्लेयर बनेका कालिका लियोपार्ड्सका पुरुषोत्तम अधिकारीले ५ हजार रूपैँया प्राप्त गरे । 

उनीहरुलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी, भरतपुर ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ र ४ का वडाध्यक्ष अर्पण पोख्रेललगायतले पुरस्कार वितरण गरे ।  
भरतपुर स्पोर्ट्स क्लबको आयोजना तथा भरतपुर ५ वडा कार्यालयको सह आयोजनामा असोज १८ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ५ टोली सहभागी थिए । प्रतियोगितामा भरतपुर ४ वडा कार्यालयले प्रथम र दोस्रो पुरस्कार सौजन्य गरेको थियो ।

प्रतिकृया दिनुहोस
↑