जापानीज इन्सेफलाइटिसबाट २८ जनाको मृत्यु, १३१ जनामा संक्रमण

नेपालमा सन् २०२६ को हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएको थियो। तीमध्ये १३१ जनामा जेई संक्रमण पुष्टि भएको हो।

महाशाखाका अनुसार संक्रमितमध्ये ८७ प्रतिशतले जेईविरुद्धको खोप लगाएका थिएनन्। हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई संक्रमण पुष्टि भएको छ।

अधिकांश संक्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेको पाइएको महाशाखाले जनाएको छ।

सरकारले जेई प्रभावित जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ। झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी, धनगढी र लम्कीचुहा क्षेत्रमा खोप अभियान जारी छ। अभियानमा ३० वर्ष वा सोभन्दा माथिका व्यक्ति तथा स्वास्थ्यकर्मीलाई लक्षित गरिएको छ।

महाशाखाका अनुसार कैलालीमा एक लाख ११ हजार ७९० र झापामा तीन लाख ४६ हजार ७७७ जनाले जेईविरुद्धको खोप लगाइसकेका छन्।

चिकित्सकहरूले जेईबाट बच्न खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन्।
 

प्रतिकृया दिनुहोस
↑