वर्षाले श्रीलंकासँगको खेल रद्द, एसियन गेम्स क्रिकेटबाट नेपाल बाहिरियो

२० औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंका बीचको क्वाटर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द हुँदा श्रीलंका आइसिसी वरियताको आधारमा श्रीलंका सेमिफाइनल प्रवेश गरेको छ। 

नेपालले समूह चरणमा शानदार प्रदर्शन गरेपनि आज बर्षाका कारण खेल्न नपाएपछि नेपालको यात्रा क्वाटरफाइनलबाटै सकिएको छ। श्रीलंकाले भने भारतसँग सेमिफाइनलमा भेट गर्नेछ। 

आइसिसी वरियताका आधारमा जारी एसियन गेम्समा चार टोलीले सिधै क्वाटर फाइनलमा स्थान बनाएका थिए। जसमा भारत, श्रीलंका, बङ्गलादेश र पाकिस्तान रहेका थिए।यसअघि पनि सोमबारका दुवै क्वाटर फाइनलका खेलहरू वर्षाका कारण रद्द हुँदा आइसिसी वरियताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल प्रवेश गरेका थिए। 

क्वाटर फाइनलको अन्तिम खेलमा मलेसियाले बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ। खेल नेपाली समयअनुसार १०:४५ मा सुरु हुनेछ। यदि वर्षा भएको खण्डमा बङ्गलादेश आईसीसी वरियताका आधारमा सेमिफाइनल प्रवेश गर्नेछ।

प्रतिकृया दिनुहोस
↑