कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा कांग्रेसले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा अधिवेशन गर्न लागेको हो।

पालिका अधिवेशनअघि देशभर वडा तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइएको थियो। केही छिटपुट स्थानबाहेक अधिकांश वडामा नेतृत्व चयनको प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका वडामा पनि अधिवेशन सम्पन्न भइसकेको छ। त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

बाढीपहिरोबाट ठूलो क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। जसअनुसार एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुनेछन्।

त्यस्तै, कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिका सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।

पालिका अधिवेशनपछि कांग्रेसको महाधिवेशन प्रक्रिया थप माथिल्लो तहमा अघि बढ्नेछ। निर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय, जिल्ला तथा प्रदेश तहका अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस
↑