चितवनमा एम्बुलेन्सको भाडा तोकियो, कुन वर्गको कति ?
चितवनमा एम्बुलेन्स तथा बिरामी ओसारपसार गर्ने सवारीसाधन (पीटीभी) को नयाँ भाडादर निर्धारण गरिएको छ। चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८३/८४ का लागि सडकको अवस्था, भौगोलिक क्षेत्र र एम्बुलेन्सको वर्गीकरणका आधारमा नयाँ दुईतर्फी भाडादर तोकेको हो।
समितिको गत भदौ ९ गते बसेको बैठकले ‘क’ वर्ग, ‘ख’ वर्गका एम्बुलेन्स तथा पीटीभीका लागि पिच, ग्राभेल र कच्ची सडकमा छुट्टाछुट्टै दर निर्धारण गरेको हो।
नयाँ दरअनुसार तराई क्षेत्रमा पिच सडकमा ‘क’ वर्गको एम्बुलेन्सले प्रतिकिलोमिटर ७० रुपैयाँ, ‘ख’ वर्गले ६१ रुपैयाँ र पीटीभीले ५७ रुपैयाँ लिन पाउनेछन्। पहाडी क्षेत्रमा भने ‘क’ वर्गको एम्बुलेन्सका लागि ९५ रुपैयाँ, ‘ख’ वर्गका लागि ७५ रुपैयाँ र पीटीभीका लागि ६५ रुपैयाँ प्रतिकिलोमिटर भाडा तोकिएको छ।
ग्राभेल सडकमा तराई क्षेत्रमा ‘क’ वर्गको एम्बुलेन्सका लागि प्रतिकिलोमिटर ७५ रुपैयाँ, ‘ख’ वर्गका लागि ६५ रुपैयाँ र पीटीभीका लागि ६२ रुपैयाँ निर्धारण गरिएको छ। पहाडी क्षेत्रमा क्रमशः १००, ८० र ७० रुपैयाँ भाडा तोकिएको छ।
त्यस्तै, कच्ची सडकमा तराई क्षेत्रमा ‘क’ वर्गको एम्बुलेन्सले प्रतिकिलोमिटर ८५ रुपैयाँ, ‘ख’ वर्गले ७५ रुपैयाँ र पीटीभीले ७० रुपैयाँ लिन पाउनेछन्। पहाडी क्षेत्रमा भने क्रमशः ११०, ९० र ७५ रुपैयाँ भाडा निर्धारण गरिएको छ।
१ देखि ५ किलोमिटरसम्म एकमुष्ट भाडा
जिल्लाभित्र १ देखि ५ किलोमिटरसम्मको छोटो दूरीका लागि पनि समितिले एकमुष्ट दुईतर्फी भाडा तोकेको छ। जसअनुसार ‘क’ वर्गको एम्बुलेन्सका लागि ४५० रुपैयाँ, ‘ख’ वर्गका लागि ४०० रुपैयाँ र पीटीभीका लागि ३५० रुपैयाँ कायम गरिएको छ।
यी क्षेत्रलाई मानिनेछ पहाडी भूभाग
समितिले चितवनका केही क्षेत्रलाई पहाडी तथा बाँकी क्षेत्रलाई तराई भूभागका रूपमा वर्गीकरण गरेको छ। भरतपुर महानगरपालिका–२९ को हाइवेबाहेकको क्षेत्र, कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–११, १२ र १३ तथा इच्छाकामना गाउँपालिकाका सबै वडा पहाडी भूभागमा समेटिएका छन्।
यी क्षेत्रबाहेक चितवनका अन्य सबै भूभागलाई तराई क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ।
भरतपुर–काठमाडौं अधिकतम १४ हजार ३००
भरतपुरबाट काठमाडौं बिरामी लैजाँदा लाग्ने अधिकतम दुईतर्फी भाडा पनि समितिले निर्धारण गरेको छ। नयाँ दरअनुसार ‘क’ वर्गको एम्बुलेन्सले बढीमा १४ हजार ३०० रुपैयाँ, ‘ख’ वर्गले ११ हजार ५०० रुपैयाँ र पीटीभीले १० हजार रुपैयाँ लिन पाउनेछन्।
समितिले तोकिएको भाडादरभन्दा बढी रकम नलिन एम्बुलेन्स तथा पीटीभी सञ्चालकलाई आग्रह गरेको छ। साथै, सर्वसाधारणलाई निर्धारित दरमै सेवा उपलब्ध गराउन पनि समितिले अनुरोध गरेको छ।






प्रतिकृया दिनुहोस