कोरोना महामारीपछि चितवनमा नयाँ उद्योग दर्ताको संख्यामा कमी

0

असोज १० , चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा चालू आर्थिक वर्ष ०७७/ ०७८ को भदौ महीनामा नयाँ उद्योग दर्ता गर्ने उद्यमीको संख्यामा कमी आएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार साउन महीनामा सबै उद्योग गरी २५४ ओटा उद्योग दर्ता भएका छन् । जसअनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग १९१ ओटा उद्योग, पर्यटनमुलक उद्योग २८ ओटा, सेवामुलक उद्योग २० ओटा र उत्पादनमुलक उद्योग १५ ओटा दर्ता भएका थिए ।

तर यो संख्या भदौमा घटेर ८४ ओटा मात्र उद्योग दर्ता भएका छन् । जसअनुसार कृषि तथा वनजन्य उद्योग ६४ ओटा, उत्पादन मुलक उद्योग १० ओटा, सेवामुलक उद्योग सात ओटा र पर्यटनमुलक उद्योग तीन ओटा दर्ता भएका छन् । कार्यालय प्रमुख नारायण लम्सालले निशेधाज्ञाका कारण भदौ महीनामा २१ दिन कार्यालय बन्द भएकोले उद्योग दर्ता गर्न सेवाग्राही नआएको बताए ।

असोज लागेपछि भने दैनिक औसत ५० ओटासम्म उद्योग दर्ता भएको उनले जानकारी दिए । दुई महीनाको अवधिमा निर्माणमुलक उद्योग, खनिजजन्य उद्योग, उर्जामुलक उद्योग र सूचना तथा विज्ञान प्रविधि सम्बन्धी कुनैपनि नयांँ उद्योग दर्ता भएका छैनन । कोरोना महामारीका कारण उद्योगीहरुले जोखिम लिन नचाहेकाले नयांँ उद्योग दर्ता हुन नसकेको उनले बताए ।

नविकरण गर्ने पनि घटे
चालू आर्थिक वर्ष साउन महीनाको तुलनामा भदौ महीनामा उद्योग नविकरण गर्नेको संख्यामा समेत कमी आएको छ । कार्यालयका अनुसार साउन महीनामा सबै उद्योग गरी २१९ ओटा उद्योग नविकरण भएका थिए भने भदौ महीनामा १०९ ओटा उद्योग मात्र नविकरण भएका छन् ।

साउन महीनामा कृषि तथा वनजन्य उद्योग ४४ ओटा, उत्पादन मुलक उद्योग ८५ ओटा, सेवामुलक उद्योग ५८ ओटा र पर्यटनमुलक उद्योग ३२ ओटा नविकरण भएका छन् । यस्तै भदौ महीनामा उत्पादनमुलक उद्योग ४९ ओटा, सेवामुलक उद्योग ३६ ओटा, कृषि तथा वनजन्य उद्योग १५ ओटा र पर्यटन मुलक उद्योग नौ ओटा नवीकरण भएका छन् ।

Share.

Leave A Reply