play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

डा. केसीसँग भएका सम्झौताहरूको कार्यान्वयन स्थिति सार्वजनिक गर्न आयोगको आग्रह

0

असोज ९, काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले डा. गोविन्द केसीसँग भएका सम्झौताहरूको कार्यान्वयनको स्थिति सार्वजनिक गर्न आग्रह गरेको छ।

आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै केसीको जीवन रक्षाप्रति संवेदनशील बन्न र सम्झौताहरूको कार्यान्वयनबारे जानकारी गराउन आग्रह गरेका हुन्।

चिकित्सा शिक्षा सुधारको लागि सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरबाट २९ भदौदेखि डा. गोविन्द केसीले आमरण अनसन सुरु गरेका थिए।

अहिले टिचिङ अस्पतालमा रहेका केसीको स्वास्थ्य अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

केसीको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा बुझिएको आयोगको भनाइ छ।

केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाले आयोगमा ज्ञापनपत्र पेश गरेकोप्रति पनि ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

स्वास्थ्यजस्तो आधारभुत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, केसीसँग सरकारले विगतमा गरेका सम्झौताप्रति गम्भीर हुँदै जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।

विवादका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले सबै पक्षलाई आग्रह गरेको छ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय बागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको छ।

Share.

Leave A Reply