play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

फर्कन चाहने १० लाख, सरकारको तयारी २५ हजारलाई मात्रै

0

जेष्ठ १७, काठमाडौँ । करिब १० लाख नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक सार्वजनिक भइरहेका बेला सरकारले तत्कालका लागि २५ हजारलाई मात्रै फर्काउने निर्णय गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शुक्रबारको बैठकले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा एक सातादेखि १० दिनभित्र ल्याउने निर्णय गरेको हो ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र नागरिकको व्यवस्थापनसम्बन्धी कार्यविधि पारित गरेको थियो । त्यहीअनुसार समितिले नेपाली श्रमिकहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार भारत र अन्य देशबाट गरी झन्डै ६ लाख नेपाली तत्काल फर्किन चाहेका छन् । तर मन्त्रालयका अधिकारीसमेत सम्मिलित कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भने भारत र अन्य मुलुकका गरी १३ लाखभन्दा बढी नेपाली स्वदेश फर्किन चाहेको तथ्यांक तयार पारेको छ । यसमध्ये प्राथमिकताका आधारमा यूएई, कतार, माल्दिभ्स तथा बंगलादेशमा रहेका विद्यार्थी छन् ।

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार यूएईमा रहेका २८ जना गर्भवती नेपाली महिला र कुवेतमा लडकडाउनकै अवधिमा माफी पाएका २ हजार ५ सयदेखि ३ हजार घरेलु कामदारलाई पहिलो प्राथमिकतामा राखिएको छ । खाडीमा सुत्केरी हुँदा कम्तीमा पनि ८ लाख जति खर्च लाग्ने र अधिकांश गर्भवती तथा उनीहरू आश्रित परिवारको समेत रोजगारी गुमेकाले प्राथमिकतामा परेका हुन् । एक दिनमा ३ हजारदेखि ३ हजार ५ सय जनालाई नेपाल ल्याउन सकिने अनुमान सरकारको छ । यद्यपि सीसीएमसीले एक दिनमा १० हजारसम्म नेपालीलाई तेस्रो मुलुकबाट उद्धार गर्न सकिने रिपोर्ट तयार पारेको थियो ।

Share.

Leave A Reply