play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

उद्योग वाणिज्य संघद्वारा भरतपुर अस्पताललाई डेंगु परीक्षण किट हस्तान्तरण

0

चितवन, भदौ ३१ ।

उद्योग वाणिज्य संघ चितवनले भरतपुर अस्पताललाई डेंगु परीक्षण गर्न आवश्यक पर्ने किट हस्तान्तरण गरेको छ । संघका अध्यक्ष सहनलाल प्रधान र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश खतिवडालाई ५०० थान किट हस्तान्तरण गर्नुभएको हो । जिल्लामा डेंगुले महामारीको अवस्था लिन लागेको भन्दै उपचारमा कठिनाइ नआओस् भनी किट हस्तान्तरण गरेको अध्यक्ष प्रधानले बताउनुभयो । नाफाका कुरामा मात्र नभई सामाजिक उत्तरदायित्वका कुरामा पनि संघ उत्तिकै सक्रिय रहेको उहाँले स्पष्ट पार्नुभयो ।

किट हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश खतिवडाले संघप्रति आभार प्रकट गर्नुभएको थियो । अस्पतालमा दैनिक १५० वटासम्म किट खपत हुने गरेको छ । ज्वरोका बिरामी अस्पताल आएर सुरुमै डेंगु परीक्षण गराउन चाहने गरेको उहाँले बताउनुभयो । सबै प्रकारका ज्वरो डेंगु नहुने भएपनि बिरामीले निजी अस्पतालमा गई चर्को मूल्यमा उक्त जाँच गराउन नपरोस् भन्न अस्पतालले सो सेवा नि:शुल्क प्रदान गर्दै आएको छ । डेंगु विरुद्ध कुनै पनि खोप नभएकाले सो रोगबाट बच्न खाल्डाखुल्डीमा पानी जम्न नदिने, झुल लगाई सुत्ने, सरसफाई गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने जस्ता कार्यहरू गर्न सकिने चिकित्सकहरूको भनाइ छ । चितवनमा असारको पहिलो हप्ता देखिएको डेंगु ज्वरोका संक्रमितहरूको संख्या हाल १ हजार नाघिसकेको छ ।

Share.

Leave A Reply