play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

खैरहनीको ४ वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

0

 

खैरहनी, असार २४ गते । चितवनको खैरहनी नगरपालिकाको ४ वटा वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । नगरपालिकाको ५, ७, ९ र १२ नम्बर वडालाई मंगलबार एक कार्यक्रमकाबीच पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । विसं २०७४ को वैशाखदेखि २०७५ को चैतसम्म ती वडाहरुका गर्भवती सबै महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएको खैरहनी नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक माया पाण्डेले बताइन् । वडा नम्बर ५ मा ४८ जना ,७ मा ५६ जना, ९ मा ४९ जना र १२ मा ६४ जना गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए । विसं २०७५ चैतदेखि विसं २०७६ वैशाखसम्म एक महिना लगाएर सुत्केरी महिलाको विवरण संकलन गरिएको थियो । नगरमा कुल ७६८ जना महिलाको संस्थागत सुत्केरी भएको थियो भने २१ जना महिलाले घरमै बच्चा जन्माएका थिए । पूर्णसंस्थागत सुत्केरी वडा घोषणा गर्दै खैरहनीकी उपमेयर सुनिता थपलियाले यसमा स्वास्थ्यकर्मी र महिला स्वयम्सेविकको भूमिका महत्वपूर्ण रहेको बताइन् । बाँकी वडालाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न र यसलाई दिगो बनाउन सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उपमेयर थपलियाले औल्याइन् ।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणाको लागि ९५ प्रतिशत स्वास्थ्य संस्थामा सुत्केरी गराएको हुनु पर्ने, गर्भवती महिलाले पूर्ण टीडी खोप लगाएको हुनु पर्ने, प्रोटोकल अनुसार गर्भ जाँच गराएको हुनु पर्ने लगायतको मापदण्ड रहेको नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्माले बताए । वडा नम्बर १ मा ४ जना, २ मा २ जना, ३ मा २ जना, ४ मा १ जना, ६ मा २ जना महिला घरमै सुत्केरी भएका थिए । त्यस्तै वडा नम्बर ८ मा १ जना, १० मा २ जना, ११ मा ३ जना र १३ मा ४ जना महिलाले घरमै बच्चा जन्माएका थिए । मातृमृत्यु र शिशु मृत्युदरमा कमी ल्याउने नगरपालिकाको लक्ष्य रहेको छ ।

Share.

Leave A Reply