पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन,प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

0

असार ३०, पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा हिजो साँझ आलमको निधन भएको हो ।५३ वर्षीय आलमलाई बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएको थियो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा लागिएको थियो ।उनको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुलाई निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री फर्किएको केही समयपछि नै आलमको निधन भएको थियो ।आलमको पार्थिव शरीरलाई अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको नेकपाले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै मो.मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीको भनाइ छ ।प्रधानमन्त्रीले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म उनी स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।त्यतिवेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए ।गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा भने आलम नेकपा प्रवेश गरे । उनी रौतहट क्षेत्रनम्बर २ बाट वाम गठबन्धनबाट चुनाव लडेका थिए तर, उनी निर्वाचनमा पराजित भएका थिए ।

Share.

Leave A Reply