यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘नाईं नभन्नू ल ५’ को ट्रेलरले यूट्यूबको नेपाल सँस्करणमा टप वानमा आफ्नो स्थान कब्जा गरेको छ । ३ दिन अगाडि इन्टरनेट रिलिज भएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।७ लाखभन्दा बढी पटक हेरिसकिएको ट्रेलरलाई १८ हजारले लाइक गरेका छन् भने कमेन्ट बक्समा आफ्नो विचार राख्नेको संख्या १७ सय बढी छ । कमेन्टमा अधिकांशले फिल्मको व्यग्र प्रतिक्षा रहेको बताएका छन् । नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं भागमा बाल कलाकार अनुभव रेग्मी, नव-बाल कलाकार सेड्रिना शर्मा, अभिनेत्री स्वस्तिमा खड्का, नव-अभिनेता अभिषेक नेपालका साथै प्रियंका कार्की, केकी अधिकारी, निरुता सिंह, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । निर्देशक विकास आचार्यले सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फ्यामिली ड्रामा फिल्म रहेको बताए ।वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । फिल्मका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताउँछन् । फिल्ममा यसपटक इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ ।