
असार २२, रियल मड्रिडले रोनाल्डो बेच्ने मनसाय व्यक्त गरेपछि म्यानचेस्टर युनाइटेडले पूर्व खेलाडीलाई क्लबमा फिर्ता ल्याउन पहल सुरु गरेको छ । इटालियन जायन्ट युभेन्टससँगको छलफल अन्तिम चरणको अवस्थामा इंग्लिस महारथी युनाइटेडले पनि चासो देखाएको छ । युनाइटेडले रोनाल्डोका लागि युभेन्टसभन्दा पनि बढी मूल्य खर्च गर्ने खुलासा भएको छ । युभेन्टसले एक सय मिलियन युरोको प्रस्ताव अघि सारिसकेको अवस्थामा युनाइटेडका उपाध्यक्ष एड उडवार्डले भने रकमको अध्ययन भइरहेको बताएका छन् ।
रोनाल्डोलाई हप्तामा पाँच लाख पाउण्ड तिर्न युनाइटेडलाई कुनै दुविधा नहुने बताइएको छ । सन् २००९ मा रोनाल्डोले रियल मड्रिडका लागि म्यानचेस्टर युनाइटेड छाडेका थिए । तर प्रशिक्षक होजे मौरिन्होसँग रोनाल्डोको सम्बन्ध राम्रो छैन । त्यसको विषयमा पनि युनाइटेडलाई चिन्ता छैन । युनाइटेडले यसअघि ग्यारेथ बेलको अनुबन्धका लागि पहुँच बढाए पनि रियल मड्रिडले त्यसमा कुनै वास्ता गरेको छैन । ब्राजिलियन स्टार विलियनलाई अनुबन्ध गर्न चासो देखाए पनि चेल्सीले दावी गरेको ७० मिलियन पाउण्ड तिर्न युनाइटेड तयार नरहेको बुझिएको छ । जर्सी र अन्य प्रायोजन सम्झौताबाट समेत कमाउन सक्ने भएकाले युनाइटेडले प्रतिष्ठित खेलाडी अनुबन्ध गर्न चासो देखाएको हो ।
