- फाल्गुण २७,दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित राष्ट्रपति पार्क गुइन हे विरूद्ध महाभियोग लगाउने संसद्को निर्णयलाई कायम राख्न फैसला सुनाएको रोयटर्सले जनाएको छ ।
राष्ट्रपति हे विरुद्ध महाभियोग लगाउने प्रस्ताव डिसेम्बर ९ मा संसदले बहुमतबाट पारित गरेको भए पनि त्यहाँको संवैधानिक व्यवस्थाअनुसार उक्त निर्णयलाई संवैधानिक अदालतले पनि सदर गर्नुपर्ने प्रावधान छ । संवैधानिक अदालतले पनि उक्त निर्णयलाई सदर गरेपछि अब हे विरुद्धको कारबाही अघि बढाउन बाटो खुलेको छ ।
दक्षिण कोरियाली संविधानअनुसार अबको ६० दिनभित्र नयाँ राष्ट्रपति चुन्नको लागि चुनाव हुनेछ । गत वर्ष हे पदच्युत भएपछि प्रधानमन्त्री ह्वाङ क्यो–आहन् कार्यकारी राष्ट्रपतिको रूपमा नियुक्त गरिएका थिए । शुक्रवारको यो फैसलासँगै पार्क गुइन हे दक्षिण कोरियामा प्रजातान्त्रिक पद्धतिबाट चुनिएर सत्ताच्युत हुने पहिलो राष्ट्रपति बनेकी छन् ।