सो अवसरमा कृषक समाजले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिकता दिएको र राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई सम्मान गरेको थियो । कृषक समाजका अध्यक्ष आनन्दप्रसाद न्यूरेले प्रधानमन्त्रीको कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा राम्रो प्रोत्साहन भएको तथा सरकारले पहिलोपटक राष्ट्रिय किसान आयोग गठन गरेकोमा प्रधानमन्त्रीलाई सम्मान गरिएको बताउनुभयो ।
समाजले सहुलियत कृषक कर्जाको व्यवस्था गर्न, पशु बीमा कार्यक्रमलाई किसानको सहभागितासहित व्यवस्थित गर्न, राष्ट्रिय किसान आयोगमा वास्तविक किसानको प्रतिनिधित्व गराउन माग गरेको समाजका केन्द्रीय सदस्य लेखनाथ अर्यालले जानकारी दिनुभयो ।
समाजले चितवनमा धुलो दूध कारखाना स्थापना गर्न, सबै जिल्लामा पशु प्रयोगशाला स्थापना गर्न र कृषिसँग सम्बन्धित ढुवानीका साधनमा भन्सार छुटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।