साउन ३१ । बाढीले डुबानमा परेका चितवनका पाँच स्थानमा आज छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा शिविर आयोजना गरिएको हो ।भरतपुर अस्पताल विकास समितिको नेतृत्वमा सौराहाको बछ््यौली, चितवन मेडिकल कलेजको नेतृत्वमा राप्ती नगरपालिका, निजी अस्पताल समन्वय समितिको नेतृत्वमा माडी, कलेज अफ मेडिकल साइसेन्सको नेतृत्वमा खैरहनी र जनस्वास्थ्य कार्यालयको नेतृत्वमा मेघौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।शिविरमा विशेषज्ञ चिकित्सकद्वारा जाँच गरिनुका साथै आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ । शिविरसँगै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयले समेत ती स्थानमा सेवा दिइरहेका छन् ।
पशुसेवा, खानेपानी तथा सरसफाइ डिभिजन, महिला विकासलगायत सरकारी कार्यालयले तत्कालको आवश्यकता पहिचान गरी सेवा दिइरहेको बताइएको छ ।जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले बाढीग्रस्त क्षेत्रमा पशु चौपायासमेत मरेकाले महामारी फैलनसक्ने अवस्थालाई ध्यानमा राखी प्रारम्भिक अवस्थामै जनचेतनासमेत जगाउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए ।गत शुक्रबारदेखि आएको बाढीले चितवनका माडी, मेघौली, जगतपुर, पटिहानी, सौराहा, खैरहनी, भण्डारा, पर्सा, लोथरलगायत क्षेत्र प्रभावित छन् । जिल्लामा चारजनाको मृत्यु भएको छ। त्यस्तै हजारौँं घरपरिवार प्रभावित भएका छन् ।
चितवनका बाढी प्रभावितलाई पाँच स्थानबाट निःशुल्क स्वास्थ्य शिविर
0
Share.