play_circle_outline On Air

क्राइमफाइल

play_circle_outline On Air

क्राइमफाइल

चितवनको टिकौली जंगलस्थित जैविकमार्ग क्षेत्रमा वन्यजन्तुमाथि परेको असरबारे अनुगमन सुरु

0

साउन २४, चितवनको टिकौली जंगलस्थित जैविकमार्ग (कोरिडोर) क्षेत्रमा वन्यजन्तुमाथि परेको असरबारे अनुगमन सुरु भएको छ। विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामेरा जडान गरी अनुगमन सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न ‘क्यामेरा ट्र्यापिङ’ विधिको प्रयोग गरिएको छ। भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा टिकौली जंगलको जैविकमार्ग पर्छ।सो क्षेत्रका १६ स्थानमा ३२ वटा अत्याधुनिक क्यामेरा राखेर अनुगमन थालिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए।
बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भए पनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्र्यापिङबाट अनुगमन गरिएको यो पहिलोपटक भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए। यसले यहाँको वास्तविक अवस्थाको चित्रण गर्ने र पछि संरक्षणका योजना बनाउन सहयोग मिल्ने उनको भनाइ छ। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। जैविकमार्ग हुँदै चितवन निकुञ्जका दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैंडा, भालु, चित्तलहरु चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने कोरिडोर टिकौली जंगल हो। यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट बर्सेनि वन्जन्तु मर्ने गरेका छन्। सो क्षेत्रमा हिँड्ने वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले अस्थायी सुरक्षाचौकी स्थापना गरेर गाडी रोक्नसमेत निषेध गरिएको छ।

Share.

Leave A Reply