play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न पाउने

0

कार्तिक ०२ , चितवन । घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्न मिल्ने गरी स्वास्थ्य मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ । मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गरेको हो । यसअघिको मापदण्डमा अस्पतालमा मृत्यु भएका संक्रमितको व्यवस्थापन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले मात्रै गर्न सक्ने नियम थियो । घरमै मृत्यु भएमा के गर्ने भन्ने कार्यविधिमा समेटिएको थिएन । पछिल्लो समय अस्पताल र आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएपछि मन्त्रालयले सर्वसाधारणले भोगेको समस्या हटाउन यस्तो मापदण्ड तय गरेको जनाएको छ । ‘अस्पतालमा मृत्यु भएकाको शव सेनाको टोलीले व्यवस्थापन गरिरहेका छन । मृतकको संख्या बढ्न थालेपछि व्यवस्थापनसमेत केही ढिलाइ हुन थालेको छ,’ स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरमै मृत्यु हुनेको सवालमा स्थानीय तह र प्रहरीलाई खबर गरेर आफन्तले व्यवस्थापन गर्न सकिने कार्यविधिमा थप गरेका हौं ।’‘आफन्तले व्यवस्थापन गर्न चाहँदा पनि कानुनी अड्चन थियो,’ मन्त्रालयका एक कर्मचारीले भने । त्यसैलाई फुकाउन आफन्तले शव ब्यागमा राखेर सुरक्षाको मापदण्ड अपनाई परम्पराअनुसार अन्त्येष्टि गर्न सकिने मापदण्ड तय गर्नुपरेको बताइएको छ ।

Share.

Leave A Reply