play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाईयो

0

कार्तिक १ , चितवन । चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको बताइएको छ । खोपको परीक्षणमा १८ देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई सहभागी गराइएको थियो । अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो ।

यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ । युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ । उमेर समूहअनुसार एन्टीबडीको मात्रा पनि फरक रहेको अध्ययनमा पाइएको छ । कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ । अध्ययनमा सहभागी व्यक्तिहरुलाई १८–६० र ६० भन्दा माथिका गरी दुई समूहमा विभाजन गरी खोप दिइएको थियो । २८ दिनको अन्तरालमा २ मिलिग्राम, ४ मिलिग्राम र ८ मिलिग्रामको डोज दिइएको थियो । अध्ययनमा सहभागीमध्ये २१ वा २८ दिनको अन्तरालमा ४ मिलिग्रामको डोज दुई पटक लिनेहरुमा एन्टीबडीले राम्रोसँग काम गरेको बताइएको छ ।एजेन्सी ।

Share.

Leave A Reply