play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी

0

असोज ४, काठमाण्डाै ।  कोरोनाका कारण यसअघिका धेरै चाडपर्व राम्रोसँग मनाउन नपाए पनि नजिकिँदै गरेका दशैं तिहार चाहिँ मनाउन पाइन्छ कि भन्ने धेरैको आश छ । बजार पसल र यातायात खुलेपछि दशैं तिहारको तयारी पनि बिस्तारै सुरु भएको छ । चाडपर्व नजिकिएसँगै सरकारी स्वामित्वका संस्थानहरु पनि चाडपर्व केन्द्रीत हुन थालेका छन् ।

कोरोनाको जोखिम कायमै रहे पनि संस्थानहरुले गएका वर्षहरुमा जस्तै यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनको तयारी थालेका हुन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले असोज १५ गतेपछि संयुक्त बजार अनुगमन थाल्ने निर्णय गरेको छ ।

त्यसपछि सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने तयारी छ । बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा पनि सम्बन्धित निकायको बैठक छिट्टै बस्ने भएको छ । अब बस्ने बैठकले नै कहिलेदेखि सुपथ मूल्यको पसल सञ्चालन गर्ने, पसल सञ्चालनको मापदण्ड के हुने, कहिलेसम्म सञ्चालन गर्ने, कति ठाउँमा सञ्चालन गर्ने लगायतका बारेमा निर्णय गर्ने मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सुपथ मूल्य पसल सञ्चालनका लागि तयारी भइरहेको जनाएको छ । सुपथ पसल कहिलेदेखि सञ्चालन हुने र कति छुट दिने भन्नेबारे टुंगो लाग्न बाँकी भएको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले जानकारी दिनुभयो ।

चिनीको भाउ बढ्न नदिने

गएका वर्षहरुमा चिनीको अभाव भएको भन्दै व्यापारीले भाउ बढाएर महँगो दरमा बेच्ने गरेका थिए । तर यो पटक भने त्यस्तो हुन नदिने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । दशैं, तिहार तथा छठ तथा त्यसपछिको समयलाई लक्षित गरेर २० हजार टन चिनी ल्याउने तयारी भएको भन्दै यो पटक महङ्गो नहुने र पर्याप्त पाइने कर्पोरेशनको भनाइ छ ।

पर्याप्त उत्पादन नहुँदा संस्थानले भन्सार छुटमा प्रत्येक वर्ष ५० हजार टन चिनी भारतबाट आयात गर्दै आएको छ । दशैंका लागि टेन्डर प्रक्रियाबाट २० हजार टन चिनी ल्याउन सप्लायर्स छनोट भएर प्रतीतपत्र खोल्ने तयारी भैरहेको साल्ट ट्रेडिङले जनाएको छ ।

प्रतीतपत्र खुलेको १५ दिनपछि नेपालमा चिनी भित्रिन सुरु हुने कर्पोरेशनको भनाइ छ । साल्ट ट्रेडिङले प्रतिकिलो ८० रुपैयाँ आसपास हुने गरी चिनी उपलब्ध गराउने योजना बनाएको छ । सुपथ पसलमा थप ५ रुपैयाँ छुट गर्दा प्रतिकिलो ७५ रुपैयाँ आसपासमा उपभोक्ताले चिनी पाउनेछन् । अहिले बजारमा प्रतिकिलो चिनीको भाउ ९० रुपैयाँसम्म पर्छ ।

नेपाल ल्याउने चिनीमध्ये थप १० हजार टन चिनी आयातको जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई दिइएको छ । लिमिटेडका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले तिहारमा मात्र चिनी ल्याउन सक्ने बताउनुभयो । ‘टेन्डर प्रक्रियामा ढिलाई भएकाले दशैँमा ल्याउन सकिँदैन’ उहाँले भन्नुभयो । अहिले चिनीमा ४० प्रतिशत भन्सार शुल्क तोकिएको छ । अब दुबै कम्पनीले २० प्रतिशत भन्सार तिरेर चिनी ल्याउने भएका छन् ।

Share.

Leave A Reply