अयोध्याको बिषयमा प्रमाण संकलनमा जोड दिन प्रधानमन्त्रीको निर्देशन :भारतले नक्कली अयोध्या खडा गरेको आरोप

0

प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि बारेको छलफललाई तीव्रता दिनुभएको छ । राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दाबीसहित प्रधानमन्त्री ओलीले यसबारे अध्ययन अनुसन्धानको कामलाई अघि बढाउन समेत सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनुभएको छ।भानुजयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्साको ठोरी र चितवनको माडी क्षेत्र भगवान रामको जन्मभूमि भएको र अहिले भारतले तयार पारेको अयोध्या नक्कली रहेको बताएपछि नेपाल र भारतमा यो विषय चर्चामा छ। प्रधानमन्त्री ओलीले यसबारे बलियो आधार तयार पार्न आज चितवनको माडी नगरपालिकाको टोलीसँग काठमाडौँमा छलफल गर्नुभएको छ।माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गर्नुभएका ओलीले आज माडी नगरपालिकाको टोलीलाई काठमाडौँमै बोलाएर छलफल चलाउनुभएको प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँगको आजको छलफलमा सहभागी माडी नगरपालिकाका प्रवक्ता तथा वडानम्बर ९ का अध्यक्ष शिवहरी सुवेदीले प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा अघि बढ्न निर्देशन दिनुभएको बताउनुभयो । प्रमाण संकलनमा जोड दिन प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो।


प्रधानमन्त्री ओलीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको दाबी गर्नुभएको थियो । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक बस्तु भेटिँदै आएको र तीनले पनि राम जन्मभूमिबारे बलियो प्रमाण दिने पुरातत्वविदको दाबी छ । प्रधानमन्त्री ओलीले त भारतले नेपालमाथि सांस्कृतिक आक्रमण गरेर भारतमा नक्कली अयोध्या खडा गरेको आरोप नै लगाउनुभएको थियो।
हुन त प्रधानमन्त्रीले यो अभिव्यक्ति दिएको भोलिपल्टै परराष्ट्र मन्त्रालयले खण्डन गरेको थियो । भारत र नेपालमै पनि रामजन्मभूमिबारे ओलीको अभिव्यक्ति विवादित बनेपछि परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर उक्त अभिव्यक्ति सच्याएको थियो । त्युपछि गएको साउन २१ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रामजन्मभूमि भनिएको अयोध्यामा राम मन्दिरको एक भव्य समारोहकाबीच शिलान्यास गरिसक्नुभएको छ । सो अवसरमा मोदीले नेपालको नाम समेत उच्चारण गर्नुभएको थियो । विश्वका विभिन्न मुलुकसँग रामको सम्बन्ध केलाउने क्रममा मोदीले नेपालको त रामसँग आत्मीय सम्बन्ध माता जानकी अर्थात (सिता)सँग जोडिएको बताउनुभएको थियो ।
भारतमा राम मन्दिरको शिलान्यास भएलगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमिबारे फेरि छलफल चलाएर यो बहसलाई नयाँ रुप दिनुभएको छ । रामजन्मभूमिबारे तथ्यहरु संकलन गर्ने कार्य उचित भएपनि वर्तमान अवस्थामा यसबारे बहस सृजना गरेर छिमेकीलाई उत्तेजित पार्न नहुने प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भनाई छ ।

Share.

Leave A Reply