६ महिनायता ३ सय ५४ जना बालबालिकालाई दादुरा र रुबेला सङ्क्रमण, २ जनाको ज्यान गयो

0

साउन २०, काठमाण्डौ – गएको ६ महिनामा साढे ३ सय बालबालिकालाई दादुरा र रुबेला सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डाक्टर झलक शर्मा गौतमकाअनुसार गएको ६ महिनामा साढे ३ सय बालबालिकालाई दादुरा र रुबेला भएको हो ।

जसमध्ये ३ सय ४० जना दादुरा र १४ जनालाई रुबेला भएको उहाँले जानकारी दिनुभयो । ६ महिनामा दादुराका कारण २ जना बालबालिकाको ज्यान गएको छ ।

यो वर्ष धादिङ, गोर्खा, मकवानपुर, काठमाण्डौ, ललितपुर, सर्लाही र झापामा दादुरा धेरै पटक फैलिएको थियो । कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउनका कारण खोप सेवा प्रभावित भएकाले दादुरा र रुबेलाको प्रकोप फैलिएको बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डाक्टर गौतमले बताउनुभयो ।

तर अहिले खोप अभियान पूरा भएको र अरु खोप पनि नियमित भइसकेकाले अब बालबालिकालाई दादुरा र रुबेला कम हुने उहाँको अनुमान छ । दादुरा र रुबेलाको फैलिएको जिल्लामा भने अभियानको रुपमा थप खोप कार्यक्रम पनि सञ्चालन गरिएको उहाँको भनाइ छ ।

अब खोप नियमित भएकाले सबै बालबालिकालाई अरु खोप जस्तै दादुरा र रुबेलाको खोप पनि अनिवार्य लगाउन डाक्टर गौतमले आग्रह गर्नुभएको छ । कुनै ठाउँमा एक जना बच्चा मात्रै खोप लगाउन छुटे, वरपरका अरु बालबालिकामा पनि दादुरा फैलने खतरा हुन्छ ।

बालबालिकालाई दादुरा र रुबेला हुन नदिन आ-आफ्ना बालबालिकालाई खोप लगाएर सहयोग गर्न बाल स्वास्थ्य महाशाखाका खोप प्रमुख डाक्टर झलक शर्मा गौतमले आग्रह गर्नुभयो ।

Share.

Leave A Reply