कोरोनाले बैँकको आम्दानी ४० प्रतिशत घट्ने सम्भावना

0

साउन ८, काठमाडौं । कोरोनासँगै मौद्रिक नीतिमा भएको सेवा शुल्कको प्रावधानले यसपाली बैंकहरुको आम्दानी उल्लेख्य रूपमा घट्ने भएको छ ।

राष्ट्र बैंकले साउन १ गतेबाट निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर ४.४ प्रतिशतमा झार्न भनेको छ । यसअघि पुरानो सूत्र अनुसार स्प्रेड गणना गर्न दिइएको थियो। यसो हुँदा केही बैंकले ६ प्रतिशतसम्म स्प्रेड राखेर काम गरेका थिए।

अब निक्षेप र ऋणको ब्याज अन्तर ४.४ प्रतिशत हुनु पर्छ। यसले गर्दा कुल आम्दानी करिब ३३ प्रतिशतले घट्ने अनुमान बैंकहरुले गरेका छन् । राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिबाट सेवा शुल्कमा सीमा तोकेको छ । अब बाणिज्य बैंकहरुले बढीमा ०.७५ प्रतिशतमात्र सेवा शुल्क लिन पाउँछन्। विकास बैंकहरुले एक र फाइनान्स कम्पनीहरुले १.२५ प्रतिशतसम्म मात्र लिन पाउँछन्।

साना ऋणीका लागि यो एकदमै राम्रो कदम भए पनि फाइदा भने ठूलाले नै उठाउने छन् । ठूलालाई प्रतिशतमा भन्दा पनि रकममा सेवा शुल्क पहिलेदेखि लाग्थ्यो। यसो हुँदा उनीहरुलाई सस्तो पर्न जान्थ्यो ।

यद्यपि अहिले बैंक हेरेर सेवा शुल्क साढे तीन प्रतिशततसम्म पर्न जान्छ । काठमाडौमा आँखा छल्न २ प्रतिशतसम्म सेवा शुल्क लिए पनि बाहिर जस्तै राम्रो हुँ भन्ने बैंकले पनि साढे तीन प्रतिशतसम्म असुल्दै आएका थिए। अब यहाँबाट हुने आम्दानी बैंकहरुको घट्ने छ। स्प्रेड र सेवा शुल्कका कारण कम्तीमा ४० प्रतिशतले आम्दानी घट्ने बैंकरको अनुमान छ ।

स्प्रेड पूर्ण कार्यान्वयन र सेवा शुल्कमा सीमा तोकिएपछि यस बारेमा बैंकबीच अनौपचारिक रुपमा छलफल भइरहेको छ। बैंकरबीच भएको छलफलमा, ठूला बैंकहरुको कुल आम्दानी दुई अर्ब रुपैयाँसम्म घट्दै छ। केही बैंकलाई भने स्प्रेड र सेवा शुल्कले केही पनि समस्या पार्दैन।

’अलिअलि त हिट गरिरहाल्छ नि। तर ठूलो असर भने केही पनि हुँदैन,’ एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले भने, ’एक अर्ब रुपैयाँभन्दा कम मात्र असर गर्छ।’

ठूला बैंकहरु हिमालयन, ग्लोबल आइएमइ, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट, नबिल, एभरेष्ट, नेपाल एसबीआइजस्ता बैंकहरुलाई पनि एक अर्बभन्दा बढीकै असर पर्ने बैंकरहरुले जनाएका छन् । साना बैंकहरुलाई समेत ३० करोडभन्दा माथिको असर पर्ने देखिएको छ।

ठूलो असर सरकारी स्वामित्वको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकहरुलाई पनि पर्नेछ। उनीहरु सेवा शुल्क तुलनात्मक रूपमा कम लिए पनि स्प्रेड भने फराकिलो छ।

Share.

Leave A Reply