play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

उजुरि नपरेपछि कोरोना अस्थायी अस्पतालको चोरी प्रकरणको मुद्या अगाडी बढेन

0

असार १८ , भरतपुर ।  कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी प्रकरणमा मुद्दा चलाउन नमिल्ने भनी जिल्ला सरकारी वकिलको कार्यालय चितवनले निर्णय गरेको छ । आवश्यक निर्णयका लागि जिल्ला सरकारी वकिलको कार्यालय चितवनले उच्च सरकारी वकिलको कार्यालय हेटौँडामा निर्णय प्रतिलिपिसहित मिसिल पठाएको छ ।

गत असार ३ गते उक्त निर्णय गरेको हो । तर, मुद्दाको किनारा लाग्न जिल्लाको निर्णय उच्च हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुग्नुपर्छ । कोरोना अस्थायी अस्पताल भरतपुरमा खटिएका कर्मचारीहरु फणीन्द्र खनाल, सञ्जय बराल र सूर्यप्रसाद तिवारीमाथि चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको थियो । भरतपुर महानगरका कांग्रेस समर्थित वडा अध्यक्षहरु चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपानेसहितले संयुक्त निवेदन दिएका थिए ।

जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले निर्णय गरी उपल्लो तहमा पठाएको बताए । यो घटना आपराधिकभन्दा पनि बढी राजनीतिक बन्न पुगेको थियो ।
मुद्दा चलाउन नपर्नुका कारण
कोरोना अस्पतालको जेठ ३२ को पत्रबाट कुनै पनि सामान चोरी नभएको जानकारी आएको र भरतपुर महानगरको असार २ गतेको पत्रबाट उक्त सामानहरु महानगरपालिकामा दाखिला भएको भन्ने जानकारी आएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

आरोपितहरुले केकति सामान चोरी गरेको भनी बिगोको सामान किटानी जाहेरीमा उल्लेख नभएको, चोरी भएको भनिएको भरतपुर कोरोना अस्पतालको तर्फबाट कुनै पनि चोरी जाहेरी नपरेको, अस्पतालका प्रमुख डा. भूर्तेल र सचिव डा. भोजराज अधिकारीले समेत कुनै सामान चोरी नभएको भनी कागज गरेको सरकारी वकिल कार्यालयको निर्णयमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय चितवनको वैशाख १६ गतेको प्रतिवेदन र प्रतिवादीहरुसँगको बयान, जिल्ला प्रहरी कार्यालय चितवनको जेठ २८ गतेको पत्र पनि मुद्दा चलाउन नपर्ने आधार रहेको कार्यालयको भनाइ छ ।

Share.

Leave A Reply