play_circle_outline On Air

बिबिसी नेपाली सेवा

play_circle_outline On Air

बिबिसी नेपाली सेवा

नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

0

असार १७, काठमाडौँ । नेपालीसँग बिहे गरेर आएका विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनेसम्बन्धी प्रावधान संवैधानिक व्यवस्थाविपरीत रहेको भन्दै कांग्रेसले नागरिकता विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त प्रावधानले सामाजिक र पारिवारिक जटिलता समेत सिर्जना गर्ने सम्भावना रहेको ठहर गर्दै विधेयक फिर्ताको माग अघि सार्ने निर्णय गरेको हो ।

कांग्रेसले पार्टी निर्णयअनुसार संसद्मा प्रस्तुत हुन कांग्रेस संघीय संसदीय दललाई निर्देशन समेत दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेर आएका महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान राखेर विधेयक पारित गरेको थियो । राज्य व्यवस्था समितिमा कांग्रेसका सांसदले वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा फरक मत राखेका थिए । समितिले अघि बढाएको विधेयकको उक्त प्रावधानलाई लिएर कांग्रेसले प्रदेश २ मा प्रदर्शनसमेत गरिरहेको छ । मधेसबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले यो मुद्दालाई सडक र सदनमा सशक्त बनाउनुपर्ने भनेर नेतृत्वलाई दबाब दिँदै आएका थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि मधेस केन्द्रित नेताहरूको मुख्य अडान यसैमा थियो ।

केन्द्रीय कार्यसमितिमा छलफल हुनुअघि नै कांग्रेसको पदाधिकारी बैठकले नागरिकता ऐन २०६३ अनुसारकै अडान पार्टीले लिने निर्णय गरेको थियो । हाल प्रचालनमा रहेको नागरिकता ऐनमा नेपालीसँग बिहे गरेर आएका विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहे तत्कालै पाउन सक्ने प्रावधान छ ।

Share.

Leave A Reply