play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

एन्फा विवाद चर्किएसंगै प्रदेश बैठक आह्वान

0

असार ७, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)काे नेतृत्व तहमा आन्तरिक विवाद चर्किएसंगै प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक बोलाएको छ ।

नेतृत्व तहमा विवाद चर्किएर वारपारकै अवस्था सिर्जना भएपछि प्रदेश नम्बर १ ले प्रादेशिक कमिटिको बैठक भोलि (सोमबार)का लागि बोलाएको छ ।

बैठक एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गबीच देखिएको आन्तरिक द्धन्दकै एजेण्डामा केन्द्रित रहनेछ । नेम्बाङ्ग प्रदेश १ बाटै फुटबलको केन्द्रिय राजनीतिमा प्रतिनिधित्व गर्छन् । पछिल्लो समय नेतृत्वसंग उनको असन्तुष्टि मात्र चुलिएको छैन, दुवै बीच वारपारको लडाँई सुरु भएको छ ।

एन्फाको हरेक निर्णयमा नेम्बाङ्गले नेतृत्वबिरुद्ध फरक मत राख्दै आएका छन् । नेतृत्व आन्तरिक संकटमा परेको समय उनले फुटबलको सर्वोच्च निकाय फिफा, एएफसीमा उजुरी हाल्नेदेखि राजीनामानै मागेका थिए ।

वरिष्ठ उपाध्यक्षनै आफुबिरुद्ध निरन्तर आक्रमणमा उत्रिएपछि एन्फा अध्यक्ष शेर्पा नेम्बाङ्गलाई ‘माईनस’ गर्ने अवस्थामा पुगेका छन् । नेम्बाङ्गलाई वरिष्ठ उपाध्यक्ष बनाएर गल्ती गरेको बताउने गरेका शेर्पाले दिएको जिम्मेवारी समेत खोस्न सुरु गरेका छन् ।

गत बुधबार मात्र अध्यक्ष शेर्पाले नेम्बाङ्गले सम्हाल्दै आएको पदपूर्ती समिति र सदस्य समन्व्य समितिका संयोजकको जिम्मवारी खोस्दै क्रमश उपाध्यक्षद्धय शिक्षित पराजुली र वीरबहादुर खड्कालाई दिएका थिए ।

अध्यक्षसंग वरिष्ठ उपाध्यक्षको सम्बन्धमा दरार उत्पन्न भएपछि प्रदेश १ ले आन्तरिक बैठक बोलाएको हो । बैठकमा एन्फाभित्र देखिएको आन्तरिक विवाद, उपाध्यक्षले राख्दै आएका फरक मत सहित प्रदेश कमिटिको विधान, कार्यक्रम लगायतका एजेण्डा तय गरिएको छ ।

एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष समेत रहेका प्रदेश कमिटिका अध्यक्ष किशोर राईले एन्फाभित्र देखिएको विवादका बिषयमा छलफल गर्ने एजेण्डा सहित प्रादेशिक कमिटिको बैठक आह्वान गरिएको   बताए ।

‘जति बेला फुटबलमा समस्यामा पर्छ, त्यो बेला प्रदेश एकले भुमिका खेल्ने गरेको ईतिहास छ । सोही अनुसार फुटबलमा देखिएको विवाद समाधानमा पहल गर्न बैठक बोलाईएको हो ।’ राईले भने ।

नेतृत्वबिरुद्ध असन्तुष्टि जनाउँदै आएका नेम्बाङ्ग फुटबलको केन्द्रिय राजनीतिमा समस्या पर्न थालेका छन् । एन्फा अध्यक्ष शेर्पाबिरुद्ध फिफामा उजुरी गर्ने र राजीनामा माग्ने वरिष्ठ उपाध्यक्षको कार्यशैलीको विरोध गर्दै यसअघि गण्डकी प्रदेशका ८ जिल्लाले बिज्ञप्ती निकालेर विरोध गरेका थिए । एन्फाको केन्द्रिय कार्यसमितिमा समेत एक्लो जस्तै देखिएका नेम्बाङ्ग आन्तरिक प्रतिस्पर्धामै समेत पछाडी पर्न थालेका छन् ।

एन्फा राजनीतिमा शेर्पापछिको उत्तराधिकारीको रुपमा हेरिएका नेम्बाङ्गको नेतृत्वसंगको विवादले प्राप्त जिम्मेवारी खोसिएको मात्र छैन, उनका प्रतिस्पर्धी उपाध्यक्ष वीरबहादुर खड्काले थप जिम्मेवारी प्राप्त गरेका छन् ।

Share.

Leave A Reply