play_circle_outline On Air

कथा

play_circle_outline On Air

कथा

किन रोकियो संविधान संशोधन विधेयक? कसले गर्यो चलखेल?

0

जेठ १४, नयाँ नक्सा सम्बन्धी संविधान संशोधनको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यसूचि एकाएक हटाइएपछि नेपालमा नयाँ राजनीतिक तरंग पैदा भएको छ । नयाँ नक्सा सार्वजनिक गर्दा सरकारले देखाएका उत्साह आज संविधान संशोधनका प्रस्तावसम्म आइपुग्दा एकाएक बिलाएको टिप्पणीहरु भइरहेका छन् । संविधानविद भीमार्जुन आचार्यले आन्तरिक छलफलको बहानामा नयाँ नक्सा सम्बन्धी संशोधन प्रस्ताव कार्यसूचिबाट हटाइएको घटनाले सन्देह पैदा गरेको बताउनुभयो । उहाँले भारतीय सञ्चार माध्यमबाट नेपाल संविधान संशोधनबाट पछि हटेको समाचार दिइरहेकोले कतै संविधान संशोधनको विषय अगाडि बढ्दैन कि भन्ने आशंकाहरु पैदा गरेको टिप्पणी गर्नुभयो ।
संविधानविद आचार्यले नयाँ नक्साका सम्बनधमा नेपाल प्रक्रियागत रुपमा अघि बढिसकेको बेला संशोधनको प्रस्तावबाट सरकार पछि हटेमा मुलुकका लागि दूर्भाग्य ठहरिने बताउनुभयो । उहाँले आफ्नो भूमि फिर्ता लिन सिर्जित उपयुक्त अवसरलाई सरकारले खेर फालेमा दोहोरिएर यस्तो अवसर प्राप्त नहुने बताउनुभयो ।
तर यता सत्तापक्षले भने आजको लागि संशोधन प्रस्ताव पेश हुने कार्यसूचि तय भएपनि प्रतिपक्षी दल नेपाली कांग्रेसले समय माग गरेका कारण कार्यसूचिबाट हटेको दाबी गरेको छ । सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङले हिजो बसेको सर्वदलिय बैठकमा कांग्रेसले छलफलका लागि समय माग गरेका कारण आजलको कार्यसूचि परिवर्तन गर्नुपरेको जिकिर गर्नुभयो ।


तर संविधान संशोधन प्रस्तावको कार्यसूचि हटाइएको विषयमा आफूलाई दोष लगाइएको भन्दै नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नक्साबारे संविधान संशोधनका लागि कांग्रेस चट्टानी अडानका साथ दृढ रहेको बताउँदै षडयन्त्रका तानाबाना नबुन्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ । उहाँले प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता लिँदा दोष लगाउने भन्दै सत्तापक्षलाई प्रश्न गर्नुभएको छ । कांग्रेस नेता चन्द्र भण्डारीले पनि संविधान संशोधनका पक्षमा कांग्रेसले आफ्नो मत जाहेर गरिसकेको स्पष्ट पार्नुभयो ।
धेरैले भारतीय दबाबका कारण सरकार संविधान संशोधनको प्रक्रियामा अघि बढ्न नसकेको टिप्पणी गरिरहेको छन् । तर सत्तारुढ नेता नेम्वाङले उक्त आरोपहरु खारेज गर्नुभयो । उहाँले नयाँ नक्साबारे संविधान संशोधनका लागि सत्तापक्ष दृढ रहेको दाबी गर्दै प्रस्ताव अढि बढ्ने बताउनुभयो ।
सत्तापक्षले हिजो बसेको सवंदलिय बैठकमा कांग्रेसले संविधान संशोधनको विषय केन्द्रीय समितिबाट पारित गर्नुपर्ने भएकोले समय माग गर्दा ढिलाइ भएको दाबी गरेको छ । यता कांग्रेस नेता डा. मिनेन्द्र रिजालले अबदेखि यस्ता सर्वदलिय बैठकमा भएको सहमति तथा निर्णयहरु संसदलाई जानकारी गराउन माग गर्नुभएको छ ।
सरकारले नयाँ नक्सा जारी गर्दा देखाएको उत्साह संविधान संशोधनको प्रक्रियासम्म आइपुग्दा सेलाएको अनुभूति नेपाली जनताले गरेका छन् । भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालले नयाँ नक्सा जारि गरेपछि चिढिएको भारतका एक प्रभावशाली नेता योबीचमा काठमाडौँ आएको र उनको नेपालका विभिन्न नेताहरुसँग बाक्लो छलफल भएको विषय पनि अहिले चर्चामा छ । यद्यपि १२ बुँदे सहमतिका सुत्रधार मानिने ति भारतीय नेता अहिले नेपालमा आएको स्वतन्त्र पुष्टि भने कहिँ कतैबाट भएको छैन ।

Share.

Leave A Reply