play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पूर्वगृहमन्त्री शर्मामाथि चौरजहारी हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप

0

जेठ १३, तीनजनाको हत्या र अन्य तीनजना बेपत्ता पारिएको रुकुमको चौरजहारी घटनाका पीडकहरुलाई पूर्वगृहमन्त्री जनार्दन शर्मा जोगाउन लागेको भन्दै संसद बैठकमा हंगामा मच्चिएको छ । सांसदहरुले जातीय विभेदका कारण भएको नृसंश घटनाका दोषीलाई जोगाउने षडन्त्रमा पूर्व गृहमन्त्री शर्मा लागेको आरोप लगाएका हुन् । पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा शर्मा लागेको भन्दै सांसदहरुले संसद बैठकमा होहल्ला गर्दै उभिएर विरोध जनाएका थिए ।प्रतिनिधिसभाको आजको बैठकमा घटना भएकै क्षेत्रका सत्तारुढ सांसद समेत रहेका शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाएका हुन् । सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चलेको थियो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह गरिरहनुभयो । तर केही समय दुवै तर्फबाट भनाभन र आरोप प्रत्यारोप चलिरह्यो ।विपक्षी सांसद लगायत दलित सांसदहरुले बोल्न रोकेपछि सांसद शर्मा आक्रोशित हुनुभएको थियो । उहाँले सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ति गर्नु कुन नियमावलिमा छ? म त्यहाँको जनप्रतिनिधि हुँ । त्यहाँका जनाताको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ भन्दै आक्रोश व्यक्त गर्नुभयो । शर्माले आफू बोल्ने क्रममा भएको अवरोधप्रति आपत्ति जनाउनुभयो ।

सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले आपत्ति जनाएका थिए । सांसद शर्मा पछि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पुर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्नलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।
यसअघि आजको बैठकको सुरुमै सांसद मिन बहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरिय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको थियो । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले चौरजहारी घटना जातीय अहंकारको उपज रहेको भन्दै यसमा संलग्न सबै दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । सांसदका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री थापाले सरकारले दोषीलाई दण्डित गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply