play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

नेपालमा सामाजिक सञ्जालको चरम दुरुपयोग हुदै:ऐन महरले बाबुराम भट्टराईलाई श्रद्धाञ्जली दिएपछि चौतर्फी आलोचना सुरु

0

जेठ १०, नेपालमा पढेलेखेका र शिक्षित भनिएका व्यक्तिहरुबाटै सामाजिक सञ्जालको चरम दुरुपयोग हुन थालेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाविरुद्धको लडाइमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको आशयसहित टिप्पणी गर्नुभएको थियो । उक्त टिप्पणी शेयर गर्दै सत्तारुढ दलको विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले बाबुराम भट्टराईलाई भारतीय दलालको मात्रै संज्ञा दिनुभएन बाबुरामलाई हार्दिक श्रद्धाञ्जली नै लेखिदिनुभयो ।जिवित व्यक्तिलाई सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त हुनुलाई नेपालको प्रचलित कानुनले अपराध मान्छ कि मान्दैन ? कानुनविद दिनेश त्रिपाठीले ‘यस्तो असभ्य टिप्पणी गर्नेलाई संविधानले नै अपराधका रुपमा व्याख्या गरेको बताउनुभयो । उहाँले जिवित व्यक्तिलाई श्रद्धाञ्जली दिने अनेरास्ववियूका संयोजक महरलाई कारबाहीका लागि पर्याप्त कानुनी आधार रहेको बताउनुभयो ।
बाबुराम भट्टराईको स्टाटस शेयर गर्दै अनेरास्ववियुका संयोजक महरले भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेपछि आलोचना बढेको छ । तर महरलाई आफूले व्यक्त गरेको श्रद्धाञ्जलीप्रति कुनै पश्चाताप छैन । धेरैको सुझावपछि श्रद्धाञ्जली शब्द हटाएपनि बाबुरामको राजनीतिक जीवनलाई आफूले श्रदाञ्जली भनेको कुरा उहाँ सगौरब बताउनुहुन्छ ।
जिम्मेबार पदमा बसेको तपाईँ जस्तो व्यक्तिले जिवित मान्छेलाई श्रद्धाञ्जली दिन सुहाएन भन्दै आलोचना भइरहेको छ नि भन्ने हाम्रो प्रश्नमा संयोजक महरले आफ्नो आलोचना गर्नेहरु राष्ट्रका गद्धार र भारतका दलाल रहेको आरोप लगाउनुभयो । आफ्ना विरुद्ध दुईथरी व्यक्तिहरु आलाचनामा उत्रेको महरको आरोप छ । देशमा राजनीतिक अस्थिरता चाहने एक जमात र अर्काे भारतीय दलालहरुले आफ्नो आलोचना गरिरहेको उहाँले आरोप लगाउनुभयो ।


अत्यधिक आलोचना भएपछि महरले आफ्नो फेसबुक अभिव्यक्ति सच्याएका त छन् तर उनको बौद्धिकता र चेतना स्तरमाथि भने आलोचनात्मक टिप्पणी गर्ने क्रम रोकिएको छैन । जिउँदै व्यक्तिलाई श्रद्धाञ्जली दिने लगायत सामाजिक सञ्जालमा पछिल्लो समय व्यक्त भइरहेका बिकृत विचारहरु नेपाली समाजको मनोसामाजिक समस्या त होइन ? मनोविद वाशु आचार्यलाई त्यस्तो लाग्दैन । विकोसोन्मुख राष्ट्रका राजनीतिक नेताहरुमा तल्लो तहको टिप्पणीमा उत्रने स्वभाव नै रहेको उहाँको बुझाई छ । संयोजक महरले पनि जानाजान दशौँ पटक सोचविचार गरेर बाबुरामप्रति आक्रामक र अभद्र टिप्पणी गरेको उहाँले बताउनुभयो ।
महर यसअघि पनि सामाजिक सञ्जाल र अन्य औपचारिक कार्यक्रममा समेत विपक्षीप्रति तल्लोस्तरको भाषाशैलीका साथ आलोचनामा उत्रिएका कारण विवादमा तानिनुभएको थियो । तर यसपटक त जिवीत रहेका पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई श्रद्धाञ्जली दिएपछि उनलाई पक्राउ गरेर कारबाही गर्न आवाज उठिरहेको छ । तर विपक्षीलाई कानुनको दुरुपयोग गरेर भए पनि जेल हाल्ने सरकारले महरलाई कारबाहीको दायरमा ल्याउने विश्वास अधिवक्ता दिनेश त्रिपाठीलाई छैन । सरकारले विपक्षीलाई आक्रमण गर्न साइवर भिजलान्तेहरुलाई नियोजित रुपमा परिचालन गरेको र त्यसको स्वरुप प्रकट हुन थालेको उहाँको आरोप छ ।

Share.

Leave A Reply