play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

भाले गोही मरेपछि प्रजननमा समस्या

0

६ असार । प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल (गोही) मरेपछि प्रजननमा समस्या देखिएको छ ।राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको उक्त भाले गोही मरेपछि सङ्कटापन्न अवस्थामा रहेका गोहीको प्रजननमा समस्या देखिएको हो ।एक महिनाअघि नवलपरासीको शेरी भन्ने स्थानमा नारायणी नदीमा तियारी जालमा परेर उक्त भाले गोही मरेको थियो । राप्ती र नारायणी नदी क्षेत्रमा एक मात्र भाले गोही रहेको अनुमान गरिँदै आएको छ ।सन् २०१६ मा गणना गर्दा ती दुई नदीमा १६६ गोही फेला परेका थिए । देशभरका अन्य नदीमा समेत गरी यो सङ्ख्या १९८ रहेको थियो ।
चालु आर्थिक वर्षमा मात्रै राप्ती र नारायणीमा ९० वटा गोही छोडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताउनुभयो । गएको जाडो याममा त्रिवेणीमा एउटा भाले घडियाल गोही देखिएको भए पनि पछिल्लो समय सो गोही पनि देखिएको छैन । १५ देखि २० वर्षको उमेरमा गोहीको लिङ्ग पहिचान हुने गर्दछ । गोही प्रजनन केन्द्र कसरामा पनि एउटा मात्रै भाले गोही रहेको छ । केन्द्रमा ५०० हाराहारी गोही रहेका छन् ।राप्ती र नारायणी नदीमा गोहीको अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो सङ्ख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता राख्ने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताउनुभयो ।विगत १५ वर्षदेखि गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत खड्काकाअनुसार पोथी गोहीले भाले प्रजननका लागि खोज्ने गर्दछन् । राप्ती र नारायणीमा प्रजननयोग्य करिब २५ वटा पोथी गोही रहेका छन् । तिनीहरुलाई हालै मरेको भालेले प्रजनन गराएको उहाँले बताउनुभयो । सो भाले गोही सन् २०१० यता ती पोथीलाई प्रजनन गराउँदै आएको खड्काको दाबी छ ।करिब ३० वर्ष उमेरको उक्त भाले मरेसँगै नारायणी र राप्तीमा प्रजनन गराउने भालेको अभाव भएको उहाँले बताउनुभयो । सहायक संरक्षण अधिकृत खड्काकाअनुसार यी दुई नदीमा प्रजनन गराउन नेपालका अन्य नदी तथा भारतबाट भाले ल्याउनुपर्ने अवस्था आएको छ । नेपालको बबई नदीमा तीनवटा भाले रहेको अनुमान गरिए पनि यकिन पहिचान भइनसकेको उहाँले बताउनुभयो । अन्य नदीमा पनि भाले गोहीको पहिचान नभएको उहाँले बताउनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले घडियाल गोही संरक्षणमा चुनौती देखिएको भन्दै वंश विस्तारका लागि नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने अवस्था आएको बताउनुभयो ।निकुञ्जले आज नवलपरासीको अमलटारीमा घडीयाल संरक्षणसम्बन्धी सरोकारवालासँग छलफलसमेत गरेको उहाँले बताउनुभयो । सो क्रममा घडियाल गोहीको मृत्युको कारण, संरक्षणमा आइपरेका समस्या र चुनौती, संरक्षणका प्रयास, दीर्घकालीन उपाय लगायतका विषयमा छलफल गरिएको थियो ।कार्यक्रममा गोहीको अनुसन्धान र प्रजनन दर बढाउने, प्राकृतिक बासस्थानमा धेरै छोड्ने, अनुगमन गर्ने, नदी तटीय बासस्थान संरक्षणका लागि स्वयम्सेवी तयार गर्ने, नदी तटीय क्षेत्रमा बस्ने बासिन्दाका लागि वैकल्पिक रोजगारी र आयआर्जनको व्यवस्था गर्ने लगायतका विषयमा छलफल भएको निकुञ्जका अर्का सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो ।

Share.

Leave A Reply