play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

बैंकहरू दैनिक दुई घण्टाका लागि खुल्ला

0

शिव गौतम,  भरतपुर । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन बन्दाबन्दी लागू गरेका कारण हरेक क्षेत्र बन्द छन् । अत्यावश्यक मानिएका बैंक तथा वित्तीय संस्थाले भने आफ्ना विभिन्न शाखाहरूबाट सेवाग्राहीलाई सेवा दिइरहेका छन् । बन्दाबन्दी सुरु भएपछि बैंकहरूले आफ्ना शाखाहरू कुनै निश्चित दिन दुईदेखि तीन घण्टाका लागि खुल्ला राख्दै आएका छन् । बैंकमा अन्य दिनहरूमा जस्तो भीडभाड हुन नदिन बैंकहरूले एक पटकमा सीमित व्यक्तिहरूलाई मात्र बैंक प्रवेशमा अनुमति दिने गरेका छन् । बैंकहरूले सेवाग्राहीलाई अनिवार्य रूपमा मास्क लगाउन अनुरोध गर्ने गरेका छन् । त्यस्तै उनीहरूले सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य बनाएका छन् । चितवन जिल्लाभित्र तीन स्थानमा शाखा कार्यालय रहेको सनराइज बैंक लिमिटेडले प्रत्येक दिन फरकफरक शाखाबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिँदै आएको छ । उसले आफ्ना कर्मचारीहरूलाई पनि आलोपालो कार्यालयमा उपस्थित हुन भनेको छ । बंैकमा सेवा लिन आउने सेवाग्राहीहरूलाई एक पटकमा चार जनाका दरले प्रवेशको अनुमति दिने गरिएको सनराइज बैंक नारायणघाट शाखाका म्यानेजर योगेन्द्र पुनले बताए । “चितवनमा टाँडी, हाकिम चोक र नारायणघाट गरी तीन ठाउँमा शाखा छन् । एक दिन एउटा शाखा खुल्दा भोलिपल्ट अर्काे खोल्ने गरेका छौं”, उनले भने । अधिकांश सेवाग्राही खाद्यान्न लगायतका सामग्री खरिद गर्नका लागि चाहिने रकम भुक्तानी गर्न आउने गरेको उनले सुुनाए । “चेकबाट नगद झिक्न आउनेको संख्या बढेको छ । सेवाग्राहीहरूले १० हजार, पचास हजार, एक लाखसम्मको रकम भुक्तानी गर्न आउनुहुन्छ”, पुनले भने । भरतपुरमा तीन स्थानमा शाखा कार्यालय रहेको बैंक अफ काठमाण्डौं लिमिटेडले पनि प्रत्येक दिन बिराएर शाखाहरू सञ्चालन गर्दै आएको छ । उसले पनि बिहानको ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि सेवा प्रदान गर्दै आएको छ । बन्दाबन्दीको समय सुरु भएपछि अरु बैंकमा जस्तै यहाँ पनि रकम भुक्तानी गर्न आउने सेवाग्राहीहरूको संख्या बढेको बैंक अफ काठमाण्डौं लंकू शाखाका म्यानेजर अमृत प्रसाद सापकोटाले जानकारी दिए । “बिहीबार लंकू, शुक्रबार नारायणघाट र आइतबार प्रगतिपथ शाखा खोलेका थियौं । व्यापारी, पेट्रोल पम्पका सञ्चालकहरूले भने रकम जम्मा गर्ने क्रम बढेको छ । नत्र रकम भुक्तानी गर्न आउने कै संख्या बढी हुन थालेको छ”, सापकोटाले सुनाए । शुक्रबार भने सेवाग्राहीको भीड बढी हुँदा शाखा चाँडै बन्द गर्नु परेको उनले सुनाए । बन्दाबन्दी सुरु भएपछि जिल्ला भित्रका बैंकका शाखाहरू दिनको केही घण्टाका लागि मात्रै खुल्ने गरेका छन् । कोरोनाको महामारीको जोखिम बढेपछि बैंकहरूले आफ्ना सेवाग्राहीलाई विद्युतीय माध्यमबाट कारोबार गर्न समेत आग्रह गरेका छन् । यस्तै, एउटा बैंकको मोबाइल बैंकिङ एपबाट अर्काे बैंकको खातामा पैसा पठाउँदा लाग्ने शूल्क समेत मिनाहा गरिएको छ ।

Share.

Leave A Reply