play_circle_outline On Air

प्रिमियर

play_circle_outline On Air

प्रिमियर

सेवाग्राहीबाट अवैध पार्किङ शुल्क लिँदै सीएमसी, महानगरले कदम कहिले चाल्ने ?

0

शिव गौतम,

माघ १०, भरतपुर ।नियमअनुसार कुनै पनि संस्था जस्तै विद्यालय, क्याम्पस, बैंक, अस्पताल, आदिले आफ्ना सेवाग्राहीबाट सवारीसाधन पार्किङको नाममा शुल्क लिन पाउँदैनन् । तर भरतपुर महानगरपालिका वडा नं १० मा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालले आफ्ना सेवाग्राहीबाट सो शीर्षकमा शुल्क लिँदै आएको छ । महानगरपालिकाले यस अघि पनि पटकपटक अस्पताललाई सेवाग्राहीबाट पार्किङ शुल्क नलिन निर्देशन दिएको थियो । अस्पतालले भने महानगरपालिकाको निर्देशनको अवज्ञा गर्दै आएको देखिएको छ । अस्पतालले दैनिक जसो सेवाग्राहीका सय बढी सवारीसाधनबाट शुल्क लिँदै आएको छ ।अस्पतालको पार्किङ एरियामा शुल्क उठाउन बसेका क्लर्कका अनुसार मोटरसाइकल पार्क गरेको १० रुपैयाँ लिने गरिएको छ । साइकल पार्क गरेको शुल्क भने ५ रुपैयाँ तोकिएको छ । चार पाङ्ग्रे सवारीसाधनका हकमा भने पार्किङ शुल्क तोकिएको छैन । ‘अन्य धेरै अस्पताल पुगेकी छु । यस्तो कतै देखिनँ । औषधि र उपचारको शुल्क लाग्छ, थाहा छ । पार्किङको पनि पैसा लिन मिल्छ र ?’, एक सेवाग्राहीले प्रश्न गरिन् । महानगरपालिकाले पार्किङ शुल्क नलिन भन्दै विभिन्न समयमा सूचना समेत जारी गर्ने गरेको छ । अस्पताल लगायत संस्थाले न त महानगरपालिकालाई टेरेका छन् न त महानगरपालिकाले नै उनीहरू विरुद्ध कदम चालेको छ । महानगरपालिकाका प्रवक्ता एवम् वडा नं १० अध्यक्ष अरूण पीडित भण्डारीले अस्पताललाई सतर्क बनाउने बताए ।

‘सेवाग्राहीबाट सरकारी वा निजी कुनै पनि संघसंस्थाले पार्किङको नाममा शुल्क लिन पाइँदैन । त्यसलाई गैरकानूनी काम मानिन्छ’, महानगरपालिकाका प्रवक्ता भण्डारीले भने । अस्पतालबाट सेवा लिए वापत सेवाग्राहीले टिकटमा पैसा बुझाएको हुन्छ भन्दै भण्डारीले पार्किङ शुल्क थप्नु गलत भएको बताए । ‘पहिले पार्किङ शुल्क लिन छाडियो भन्ने सूचना आएको थियो । अहिले अस्पतालले फेरि सोही शीर्षकमा पैसा असुल्न थालेको सूचना आएको छ’, उनले भने, ‘सुरुमा उसलाई सम्झाउने काम गर्छौं । मानेनन् भने महानगरपालिकाले नियमअनुसार कारवाही गर्छ ।’
महानगरपालिका भित्र रहेका फन पार्क, बैंक, आदिले पनि आफ्ना सेवाग्राहीबाट पार्किङ शुल्क असुलेको पाइएमा महानगरपालिकाले तिनीहरूलाई कानूनतः कारवाही गरिने प्रवक्ता भण्डारीले जानकारी दिए ।

Share.

Leave A Reply