play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

घाइतेलाई जोगाउन प्राथमिक उपचार आवश्यक

0


शिव गौतम,
मंसिर १०, चितवन ।
कुनै पनि दुर्घटनामा परेको व्यक्तिलाई अस्पताल पु¥याउनुभन्दा पहिले दिइने सामान्य उपचारलाई प्राथमिक उपचार भनिन्छ । सामान्य मात्र नभई गम्भीर प्रकृतिका घाइतेको अवस्थामा पनि प्राथमिक उपचारका मद्दतले सुधार ल्याउन सकिन्छ । अलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछाने भन्छन्, “सडक वा अन्य कतै घाइते भएको मान्छेलाई अस्पताल पु¥याउँदासम्म दिइने पहिलो उपचार नै प्राथमिक उपचार हो । दुर्घटनापछि जुन अंगमा चोट वा असर पुगेको हुन्छ, त्यही भागलाई जोगाई बिरामीको अवस्थामा सुधार ल्याउनु यो उपचारको प्रमुख उद्देश्य हुन्छ ।”

 

दुर्घटना कति बेला कहाँ हुन्छ भन्ने कुरा कसैलाई थाह हुँदैन । त्यसैले पनि प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामग्रीको तयारी पहिले नै गर्नु पर्ने हुन्छ । प्राथमिक उपचारका सामग्रीमा कैँची, ब्याण्डेज, कपास, टर्च, एन्टिसेप्टिक मलम, डिटोल, डायरी, कलम, टेप, लगायतका वस्तु पर्दछन् । आफ्नो साथमा यस्ता वस्तुको जोहो गरेर राख्ने हो भने जस्तोसुकै समयमा हुने दुर्घटनाका पनि घाइतेले प्राथमिक उपचारबाट राहत पाउन सक्नेछन् । राजमार्ग वरपर सवारी साधनको दुर्घटना भइरहने भएकाले त्यस्ता क्षेत्रमा बस्ने समुदाय प्राथमिक उपचारका विषयमा अझै चनाखो हुनु आवश्यक हुन्छ । डा. लामिछाने भन्छन्, “दुर्घटनामा परेको घाइतेलाई सजिलो हुने तरिकाले राख्नुपर्छ । गम्भीर प्रकृतिका बिरामी बेहोस वा अर्ध बेहोस अवस्थामा हुन्छन् । त्यस्ता घाइतेलाई सबैभन्दा पहिले अस्पताल लैजानु पर्ने हुन्छ । घाइतेको शरीरलाई मर्काउनु हुँदैन, सिधा बनाएर राख्नुपर्छ । घाइतेको अगाडी जे पायो त्यही बोल्न पनि हुँदैन । यसले उसको मनोविज्ञानमा नकारात्मक असर पुग्न सक्छ । घाइतेलाई डर लाग्ने वा तनाब हुने कुरा बोल्नुहुँदैन । कहिलेकाहीँ आत्तिएर पनि घाइतेको अवस्था बिग्रन सक्छ ।” लामिछानेका अनुसार घाइतेले लगाएको लुगाले उसको शरीरलाई कसेको छ भने लुगालाई धोल्लो पार्नुपर्ने हुन्छ ।
ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चन्द्र कुमार गिरी दुर्घटनाका प्रत्यक्षदर्शी वा घटना भएको ठाउँका स्थानीयले पनि घाइतेको उद्धारमा भूमिका खेल्नुपर्ने हुन्छ । ”घाइतेलाई कुन भागमा चोट लागेको छ, हातखुट्टा भाँचिएका छन् कि भन्ने जाँच्नुपर्छ । यी सबै कुरा हेरेर एम्बुलेन्स वा अन्य कुनै सवारी साधनमाका माध्यमबाट उसलाई यथाशीघ्र अस्पताल लैजाने व्यवस्था मिलाउनुपर्छ”, प्रहरी निरीक्षक गिरीले भने ।

Share.

Leave A Reply