भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाटै समाधान गर्न नागरिक समाजका अगुवाहरुले सार्वजनिक आह्वान गरेका छन् ।
उनीहरुले भारतबाट अतिक्रमित भूमि र भारतले सार्वजनिक गरेको नक्साका कारण उत्पन्न भएको समस्या समाधान नभएसम्म सरकारलाई निरन्तर दबाब दिइरहन सर्वसाधारणलाईसमेत आह्वान गरेका छन् ।
लिम्पियाधुरासम्म नेपालको सीमा रहेको ऐतिहासिक तथ्य–प्रमाणसहितको नक्सा तत्काल सार्वजनिक गर्न र भारत र चीन सरकारसँग वार्ता गरी लिम्पियाधुरालाई त्रिदेशीय विन्दु कायम गराउन पनि सरकारसमक्ष माग गरेका छन् ।
त्यसैगरी, भारतलाई पत्राचार गरी कालापानीमा रहेको भारतीय फौजलाई तत्काल फिर्ता गराउन र त्यस क्षेत्रमा नेपालको सशक्त उपस्थिति जनाउन पनि माग गरिएको छ ।
दशगजा क्षेत्रको अनुगमन गरी मिचिएका स्थानमा दशगजा पुनःस्थापना गर्न पनि नागरिक अगुवाहरुले माग गरेका छन् ।
यसरी, आह्वान गर्नेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, डा. गौरीशंकर लाल दास, हिमालयशमशेर जबरा, भैरव रिसाल, केदारभक्त माथेमा, सुशीला कार्की, त्रिरत्न मानन्धरलगायत २५ जना छन् ।
उनीहरुका तर्फबाट शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार भैरव रिसालले सरकारले यस विषयलाई गम्भीररुपमा लिएर काम गर्नुपर्ने बताए ।