play_circle_outline On Air

बिबिसी बिहानी सेवा

play_circle_outline On Air

बिबिसी बिहानी सेवा

ह्विलचेयरमा बसेर बास्केटबल

0

शिव गौतम, मंसिर ६, चितवन । बास्केटबल कोर्टभित्र ८ जना खेलाडी छन्, एउटा टिममा चार जना । रेफ्रीले कोर्टको बीच भागबाट बल आकाशतिर फाल्छन् । ह्विलचेयरमा बसेका दुई खेलाडी बल छोप्न अघि बढ्छन् । पछिपछि अरु खेलाडीले उनीहरूलाई पछ्याउँछन् । एक खेलाडीले बललाई भूइँमा उफार्दै आफ्नो साथीलाई उक्त बल पास गर्छन् । ती साथीले बललाई फेरि भुईंमा उफार्छन् र बललाई बास्केटतिर ताकेर फाल्छन् । बल बास्केटमा टाँगिएको नेटलाई हल्लाउँदै बास्केटभित्र पस्छ । रेफ्रीले स्कोर भएको इसारा गर्दै सिठ्ठी फुक्छन् । दर्शक खुशी भई ताली बताउँछन् । यो दृश्य नारायणी नमुना माविको प्राङ्गणमा भएको मैत्रीपूर्ण ह्विलचेयर बास्केटबल प्रतियोगिताको थियो । अपाङ्ग समाज चितवनको २५औं रजतवर्षको अवसरमा सो प्रतियोगिता आयोजना गरिएको थियो । समाजको रजत वर्ष मूल समारोह समिति मूल संयोजक होमनाथ अधिकारीले अपाङ्ग व्यक्ति खेलकूदमा पनि सक्षम हुन्छन् भन्ने देखाउन प्रतियोगिता आयोजना गरिएको बताए । ‘अवसर दिने हो भने अपाङ्गता भएका व्यक्तिले खेलमा पनि राम्रो गर्न सक्छन् । नेपाली दृष्टिविहीन क्रिकेट टिमले गरेको प्रगतिले असम्भव केही छैन भन्ने कुरा पटकपटक साबित गरेको छ’, उनले भने । अपाङ्ग व्यक्तिलाई पनि अवसरको खाँचो रहेको उनले औल्याएँ । ‘अपाङ्गता भएका व्यक्तिहरूले राम्रो खेल्दा खेल्दै पनि धेरै प्रतियोगिता हुन सकेका छैनन् । खेल सामग्री जुटाउन पनि हामीलाई धौधौ पर्ने गरेको छ । खेल खेल्न नेट उपलब्ध गराइदिनू भनी जिल्ला खेलकूद पुग्दा पनि रित्तै फर्किनुपर्ने अवस्था छ । अवसर नमिल्दा खेलाडीमा पनि नैराश्यता आउने सम्भावना बढेको छ’, उनले थपे । अपाङ्गता भएका व्यक्तिहरूले मुढा तथा झोला बुनेर आफ्नो आयआर्जनको श्रोत जुटाउने गरेकामा पछिल्ला समय उनीहरूले खेलकूदमा पनि व्यवसायिकता पाउन थालेका हुन् । अपाङ्गता भएकाहरूको सहभागितामा हुने अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न थालेपछि चितवनमा पनि यस्ता प्रतियोगिता आयोजना गर्न थालिएको हो । अपाङ्ग समाज चितवनका बालकृष्ण श्रेष्ठ पनि राम्रो बास्केटबल खेल्छन् । ‘खेल खेल्दा शरीरलाई पनि व्यायाम हुन्छ । आज दुई स्कोर गरें’, उनले खुशी हुँदै सुनाए । अपाङ्गता भएका व्यक्तिहरू पहिले घरको कोठामा थुनिएर आफन्तबाट नै तिरस्कृत हुँदै आएका थिए । धेरैको बुझाइमा अहिले त्यो अवस्था छैन । आफूलाई गर्न मन लागेको कुरा गर्न परिवारकातर्फबाट समेत साथ र सहयोग मिल्ने गरेको अपाङ्गहरू बताउँछन् । बालकृष्णले थपे, ‘अपाङ्ग व्यक्तिहरूलाई हेर्ने दृष्टिमा बिस्तारै परिवर्तन आउन थालेको छ । दूर दराजका क्षेत्रमा अपाङ्गलाई फरक व्यवहार गरिएको भएपनि शिक्षित क्षेत्रमा त्यस्तो अवस्था छैन ।’ नीति तथा कानूनमा लेखिएका कुरालाई अपाङ्ग व्यक्तिहरूले अनुभव गर्न नपाएकोप्रति भने उनको गुनासो रहेको छ । ‘संयुक्त राष्ट्रसंघ देखि नेपाल सरकारसम्म सबैले अपाङ्गता अधिकारका विषयलाई लिएर सम्मेलन र हस्ताक्षर गर्ने गरेका छन् । तर ती नियम अक्षरसः पालना नै भएका छैनन् । जुन दुःखद कुरा हो’, उनले भने । अपाङ्गता भएका व्यक्ति अन्य व्यक्तिभन्दा भिन्न रूपले सक्षम छन् । अफ्ठेरो परिस्थितिमा पनि हाँस्दै बाँच्न सिकाउने उनीहरूको जीवनलाई सहज बनाउन व्यक्तिदेखि सरकारसम्म सबै अपाङ्गतामैत्री समाजको निर्माणमा सहभागी हुन आवश्यक देखिन्छ ।

Share.

Leave A Reply