play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

एक ट्राफिक प्रहरीले हेनुपर्छ चार हजार सवारी साधन !

0

शिव गौतम,
मंसिर २, चितवन ।
भरतपुर महानगरपालिकामा पर्ने प्रमुख सडक खण्डमा सवारीको चाप बढेसँगै दुर्घटनाको संभावना पनि ह्वात्तै बढेको छ । महेन्द्र राजमार्ग, नागरायणगढ मुग्लिङ सडक खण्ड र बाइपास रोडका हरेक चोक र घुम्ती सवारीसाधन र यात्रुका लागि जोखिमपूर्ण हुन थालेका हुन् । सवारी साधनको संख्या बढ्दै जानु र सडक साँघुरिनुले पनि यात्रालाई थप कष्टकर र असुरक्षित बनाएको छ । पूर्व ट्राफिक प्रहरी सन्तोष पन्त भरतपुरमा हुने सवारी चापलाई यसरी व्याख्या गर्छन्, ‘काठमाण्डौं या पोखरा जाँदा नारायणघाट भएरै जानुपर्छ । बुटवल, भैरहवा अनि पश्चिमका अन्य ठाउँ जाने गाडी पनि यही मार्ग हुँदै जानुपर्ने हुनाले भरतपुरमा सवारी चाप बढेको हो । चितवन जिल्लाभर एक दिनमा १ लाख सवारी गु्ड्छन् । भरतपुरमा त्यसको ७० प्रतिशत गाडी गुड्छन् । त्यसकारण पनि भरतपुरका हरेक सडकमा दुर्घटनाको जोखिम छ । हरेक बाटा असुरक्षित छन् ।’

भरतपुर महानगरपालिका भित्र मात्रै दैनिक करिब ७० हजार वटा लामा तथा छोटा दूरीका गाडी गुड्ने गरेका छन् । यति धेरै सवारीको चाप नियन्त्रण गर्न ट्राफिक प्रहरी भने जम्मा १५–१६ जना खटाइएका छन् । यो आधारमा भरतपुर महानगरपालिका भित्र एउटा ट्राफिक प्रहरीले करिब ४ हजार ६ सय वटा सवारी साधनको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । जुन काम त्यति सहज छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक चन्द्र कुमार गिरी प्रहरीको जनशक्ति अपुग भएको बताउँछन् । उनी भन्छन्, ‘चितवन जिल्लाको सवारी चाप हेर्न हामीलाई १०० जना ट्राफिक प्रहरीको आवश्यकता पर्छ । भरतपुर महानगरपालिकामा जम्मा १५/१६ जना ट्राफिक प्रहरीको भरमा सवारी साधन व्यवस्थापन गर्न गाह्रो भएको छ । प्रमुख चोकहरूमा ट्राफिक प्रहरी खटाउनै सकेका छैनौं । अन्य जिल्लाको तुलनामा दुर्घटनाको दर पनि चितवनमै बढी छ ।’

सवारी साधनको चाप थामिनसक्नु भएपछि पैदल यात्रीले पनि सडक प्रयोग गर्नमा अनेक सास्ती बेहोर्नुपरेको छ । महेन्द्र राजमार्गको चौबिसकोठी पुल्चोक सडक खण्डमा पर्ने भरतपुरको ओरालोमा पैदलयात्रीलाई बाटो काट्न एकदमै चुनौति झेल्नुपर्नै गरेको छ । ठूला १२ चक्का माथिका ट्रेलर पनि ओहोरदोहोर गर्ने उक्त स्थान बाटो काट्नका लागि कादापि उपयुक्त देखिँदैन । पन्त भन्छन्, ‘सवारी साधन मेसिनरी कुरा हुन् । ओरालोमा ब्रेक सधैं लाग्न सक्छ भनेर भन्न सकिने अवस्था पनि रहँदैन । त्यस्ता त्रुटी देखिएको खण्डमा बाटो काट्दै गरेको पैदलयात्रीको ज्यान जोखिममा पर्न सक्छ नि । ओरालो बाटामा पोतिएका जेब्रा क्रसिङ त्यसकारण पनि वैज्ञानिक छैनन् । पैदलयात्री बढी आउजाउ गर्ने स्थानमा बरु बाटोको माथि अथवा मुनिबाट बाटो काट्ने व्यवस्था मिलाउन सकिन्छ ।’

कतिपय अवस्थामा भने सवारी साधनका प्रयोगकर्ता स्वयम्ले पनि सवारीको दुरुपयोग गर्दा सवारी चाप बढ्न गएको देखिन्छ । हिँडेरै पुग्न सकिने स्थानमा जान समेत हामीले सवारी साधनको अनावश्यक प्रयोग गर्ने गरेका छौं । नजिकैको दूरी हिँडेर नै पार गर्ने बानी बसाल्ने हो भने थोरै भए पनि सवारीको साधनको चाप घटाउन सकिने थियो । दुर्घटनाको जोखिम बोकेका सडकहरूमा सबैभन्दा पहिले आवश्यक मर्मत गर्नुपर्ने देखिन्छ । सवारी साधनको संख्यामा वृद्धि हुँदा सडकको स्तर पुरानै रहनुले नकारात्मक सन्देश मात्रै फैलाउँछ । त्यसैगरी, ट्राफिक प्रहरीको संख्या बढाउँदै चालकहरूलाई जिम्मेवार अनि पैदलयात्रीलाई सजग बन्न लागाएर पनि दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

Share.

Leave A Reply