play_circle_outline On Air

पोल्ट्री आवर

play_circle_outline On Air

पोल्ट्री आवर

भरतपुर अस्पतालको पोषण पुनःस्थापना गृहमा बजेट अभाव

0

कार्तिक ,१९।
भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने उनीहरुले नै खर्च गरेर बिरामीको हेरचाहा गर्दै आएका छन् ।गृहकी संयोजक छमकला काफ्लेका अनुसार गृहमा संयोजक बाहेक चार जना स्टाफ नर्स र चारजना सरसफाइ एवं भान्छाका कर्मचारी रहेका छन् । गृह सञ्चालन गर्न कर्मचारीको बाहेक बिरामीको सङ्ख्याको आधारमा हरेक महिना रु ४० हजारदेखि ६० हजारसम्म खर्च हुने गर्दछ ।कुपोषण भएका पाँच वर्ष भन्दा तलका बालबालीका उपचारका लागि गृहमा ल्याउने गरिन्छ । कुपोषणकै कारण कम तौल भएका ती बालबालीकालाई पौष्टिक आहारा खुवाउने र उनीहरुका आमालाई घरमानै पाउने खाद्यान्नबाट कसरी पोषणयुक्त खाना बनाउन सकिन्छ भनेर तालीम दिइने काफ्लेले बताइन ।

बजेट अभाव भएपछि साउनयता आफुहरुकै निजी खर्च र उधारोमा सामान ल्याएर बिरामी राख्दै आएको काफ्लेको भनाइ छ । गत वर्ष १५३ जना बालबालिका भर्ना भएको केन्द्रमा यसवर्ष हरेक महिना १० जना नयाँ भर्ना गर्ने लक्ष्य लिइएको थियो । यसवर्ष बजेट नभएपछि लक्ष्य अनुसार भर्ना गर्न नसकिएको उनले बताउनुभयो । हाल केन्द्रमा तीनजना मात्र बालबालिका रहेका छन् । १० श्ययाको क्षमता भएको भए पनि १५ जना सम्मलाई उपचार गरिँदै आएको थियो ।अस्पतालका लेखा प्रमुख भृगु खनालका अनुसार कार्यक्रम सुनिश्चितताको पत्र प्राप्त भएमा अस्पतालको अन्य बजेटबाट व्यवस्थापन गर्न सकिने भए पनि पत्रसमेत प्राप्त नहुँदा समस्या भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बजेट छुट भएको जानकारी भएलगत्तै स्वास्थ्य मन्त्रालयको सम्बन्धित शाखामा पुगेर जानकारी गराएको तर हालसम्म निकासा हुन नसकेको बताए ।अस्पतालका तर्फबाट आवश्यक पहल भइरहेको उनले जानकारी दिए। सन् २०१२ अप्रिल २२ तारिखमा भरतपुर अस्पताल, नेपाल युथ फाउण्डेशन र दियालो परिवार नारायणगढले संयुक्त रुपमा गृह संञ्चालन गरेको थियो । त्यसको पाँच वर्षपछि गैरसरकारी संस्थाले गृहको सञ्चलनको जिम्मेवारी अस्पताललाई दिएका थिए ।गृहमा आउने बालबालिकामा ८० देखि ८५ प्रतिशत उपचार सफल हुने गरेको जनाइएको छ ।रासस

Share.

Leave A Reply