play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

बैतडीमा बजार अनुगमनका क्रममा अखाद्य वस्तु नष्ट

0

बैतडी, असोज १६ । दशैं तथा तिहारजस्ता चाडपर्व नजिक आएसँगै बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । चाडपर्वका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । अखाद्य तथा म्याद नाघेका वस्तुको विक्री वितरण रोक्ने, खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्ताहरुलाई जागरुक बनाउनका लागि बजार अनुगमन गरिएको उनले बताए । अहिलेसम्म खोड्पे, पाटन र सदरमुकामका बजारमा अनुगमन गर्दा करीब ८० हजार रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए । अनुगमनका क्रममा चाउचाउ, चिउरा, बिस्कुट, तेल, पिठो लगायतका म्याद नाघेका सामग्री बरामद गरिएको होे । अनुगमनका क्रममा कतिपय पसलेले अझै पनि पसल दर्ता नगरेको, उपभोक्ता तथा व्यवसायीले खाद्य वस्तुको उत्पादन मितिका बारेमा चासो नदिने गरेको लगायतका समस्याहरु देखिएका छन् । म्याद नाघेका सामग्री विक्री वितरणमा कमी ल्याउन स्वयं उपभोक्ता पनि जागरुक हुनुपर्ने लेखकले बताए । गढीदेखि गोठलापानीसम्मको बजार अनुगमन गर्दा एकैदिन ३० हजार बराबरको म्याद नाघेका वस्तु बरामद गरि नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ३४ किराना पसल, २२ होटल र ३ औषधि पसलमा अनुगमन गर्दा धेरैजसोमा मूल्यसूची नराखेको पाइएकाले मूल्यसूची राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

Share.

Leave A Reply