play_circle_outline On Air

जिबन गंगा

play_circle_outline On Air

जिबन गंगा

दशैं गीत : पहिले र अहिले

0

 

 

 

शिव गौतम,

असोज १४ ।
नेपालीहरूको महान् चाड दशैं सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र शहर बजारतिर दशैंका गीत पनि घन्कन थालिसकेका छन् । एक हिसाबले भन्नु पर्दा दशैंका गीत नबज्दासम्म दशैं आएको हो वा होइन भन्ने भान हुने अवस्था आइसकेको छ । गीतसंगीत र चाड पर्व बीचको सम्बन्धलाई गायक हेमन्त शर्मा यसरी चित्रण गर्छन्, ‘संसारमा नै हेर्ने हो भने पनि गीतसंगीत र चाडपर्वमा नजिकको सम्बन्ध रहेको हुन्छ । चाडपर्वले रमाइलो माहौल ल्याउने भएकाले पनि गीतसंगीत खुशी प्रकट गर्ने एउटा माध्यम बनेको छ । एक प्रकारले भन्नुपर्दा परापूर्वकालमा गीतसंगीतको सृजना हुनुमा पनि यिनै चाडपर्वको भूमिका रहेको हुन्छ जस्तो लाग्छ । हरितालिका तीज हेर्नुहोस्, दशैंतिहार हेर्नुहोस्, ल्होसार हेर्नुहोस् वा अरु कुनै पर्व हेर्नुहोस्, पर्वले गीतसंगीतलाई जन्माएको पाइन्छ । पछि आएर तिनै गीतहरू आगामी पर्वमा प्रयोग गरिन्छन् । त्यस्तै, अन्य रमाइला गीत पनि चाडपर्वमा गाइने गरिएका छन् ।’

 

 

 

पुराना दिन हेर्ने हो भने दशैं गीतमा टीका, जमरा र लिङ्गे पिङ्गका कुरा त समेटिन्थे नै साथमा लाहुरे दाइले परदेशबाट घर आउँदा केके कोशेली ल्याए भन्ने कुरालाई पनि प्रमुखता दिने गरिन्थ्यो । एउटा वर्गले धुमधामसँग दशैं मनाइरहँदा अर्काे वर्गलाई एक छाक टार्नै धौधौ भएको कुरा पनि गीतमार्फत व्यक्त गरिन्थ्यो । रोजगारीका लागि विदेश गएका नेपालीहरू दशैंमा घर फर्कन नपाउँदाको पीडालाई पनि गीतको माध्यमबाट उतारिने गरिन्थ्यो । समयसँगै हालको अवस्थामा आइपुग्दा भने दशैं गीतको स्वरूप नै फेरिएका छन् । गायक तथा संगीतकार सहनलाल प्रधान यसो भन्छन्, ‘पहिलेका जस्ता दशैंका गीत अहिले आएकै छैनन् । अझ भन्नुपर्दा आजकल बढी बज्ने गीतहरू पुरानै गीत हुन् । ती पुराना गीतलाई प्रतिस्थापन गर्न सक्ने नयाँ गीत देखिएका छैनन् । परदेशबाट लाहुरेहरू दशैंमा टीका थाप्न घर आउन नपाउँदाको व्यथालाई गीतमा उतारिन्थ्यो । अहिलेका गीतमा माया र प्रेमका मात्रै कुरा हुन्छन् । यो विकृतिलाई हटाउन सबै संगीतकर्मी गम्भीर हुनुपर्ने देख्छु ।’

 

त्यस्तै लोक तथा दोहोरी गायक शिरीष देवकोटा पछिल्लो समय दीन दुःखीका लागि भनेर ल्याइने दशैंका गीतमा कमी आएकोे बताउँछन् । उनी भन्छन्, ‘लोक गीतसंगीतले सधैं लोकमा भएका घटना उजागर गर्ने भएकाले चाडपर्वमा यस्ता गीतको बढी महत्त्व हुन्छ । दशैंका गीतमा पहिले पहिले लाहुर गएकाहरूको कथा राखिन्थ्यो । दशैंमा मीठो खानुपर्छ र राम्रो लगाउनुपर्छ भन्ने विश्वास थियो । तर सबैले मीठो खान र राम्रो लगाउन पाउँदैनथे । पहिले ती गरिब नेपालीका बारेमा पनि गीत आउने गरेकोमा अहिले त्यो क्रम रोकिएको छ । गरिबहरूको आर्थिक स्तर बढेको हो कि ती गीत गाउने वर्गको स्तर बढेको हो बुझ्न सकिएको छैन ।’

 

 

 

 

गीतहरूबीच व्यवसायिक प्रतिस्पर्धा बढेकाले पनि दशैंको मर्मसँग मिल्दो गीत आउन नसकेको संगीतकर्मीहरू बताउँछन् । लोक तथा दोहोरी गायक विमलराज क्षेत्री भन्छन्, ‘गीतसंगीतमा व्यवसायिकता र प्रतिस्पर्धाको विकास भएकाले पनि पहिलेको जस्तो गीत अहिले बन्ने गरेका छैनन् । दशैं गीतको मर्मलाई मारेर त्यसमा प्रेमसम्बन्धी शब्द मिसाउन थालिएको छ । साँच्चै नै दशैं गीत गाउने हो भने गीतमा सोह्र श्राद्ध, घटस्थापना, फूलपाती लगायतका विषयमा परिचय दिन आवश्यक देख्छु ।’

चाडपर्वलाई लक्षित गरेर ल्याइने गीतहरू सकेसम्म सदाबहार हुन जरुरी छ । क्षणिक मनोरञ्जनका लागि उत्पादन गरिने गीतले चाडपर्वको संरक्षण कहिल्यै पनि गर्न सक्दैन । अलिकति सन्देशमूलक र मौलिक मर्म बोकेका गीत उत्पादन गर्ने हो भने पनि नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने कार्यमा गीतसंगीतले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

Share.

Leave A Reply